काठमाडौँ । सुकुमबासी बस्ती हटाउने कार्यमा अवरोध गर्नसक्ने आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर रहेका छन्।
उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्। सरकारले आजदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँट क्षेत्रका सुकुमबासी बस्तीका घर तथा टहरा हटाउने कार्य सुरु गरेको छ।
पक्राउ परेका राजकुमार लामा हाल बालाजुमा बसोबास गर्दै आएका छन् भने अर्जुन कुँवर पर्वत फलेबास–११ घर भई काठमाडौँ महानगरपालिका–११ मा बस्दै आएका छन्।
यसअघि प्रहरीले संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी, दिनेश सुनार तथा कार्यवाहक अध्यक्ष नारायण परिश्रमी (नारायण परियार) लाई पनि पक्राउ गरिसकेको छ। यससँगै बस्ती हटाउने क्रममा अवरोध गर्नसक्ने आशंकामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।


