Friday, July 17, 2026
Homeसामाचारसीमापार अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक : आईजीपी कार्की

सीमापार अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक : आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान तथा प्रहरी संगठनहरूबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (यूएनसीओपीएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनका उपलब्धिबारे जानकारी दिएका हुन्।

आईजीपी कार्कीका अनुसार सम्मेलनमा विश्वका प्रहरी संगठनहरूबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य विस्तार, आधुनिक प्रविधिको प्रयोग, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि, सूचना आदान–प्रदान तथा अन्तरदेशीय अपराध नियन्त्रणका प्रभावकारी उपायबारे व्यापक छलफल भएको थियो।

उनले अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि विश्वका सबै मुलुकले आपसी समन्वय र सहकार्यको आवश्यकता महसुस गरिरहेको उल्लेख गर्दै नेपाल पनि जिम्मेवार साझेदारका रूपमा यस्तो सहकार्यमा सक्रिय रहेको बताए।

कार्कीले सम्मेलनमा नेपाल प्रहरीले आधुनिक प्रविधिको उपयोग, अनुसन्धान क्षमता विकास, समुदाय–प्रहरी साझेदारी तथा अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्‍याएको जानकारी दिए।

उनका अनुसार उक्त सम्मेलन नेपाल प्रहरीका लागि विश्वभरका उत्कृष्ट अभ्यास सिक्ने, अनुभव आदान–प्रदान गर्ने तथा भविष्यका सहकार्यका नयाँ अवसर पहिचान गर्ने महत्वपूर्ण मञ्च बनेको छ। सम्मेलनबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालको सार्वजनिक सुरक्षा, शान्ति र अमनचयनलाई थप प्रभावकारी बनाउन उपयोग गरिने उनले बताए।

आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता विस्तार गर्ने विषयमा पनि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा छलफल भएको जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी बल (एपीएफ) को ‘फर्म्ड पुलिस युनिट (एफपीयू)’ ले लेभल–३ स्तर हासिल गरिसकेको छ भने नेपाल प्रहरी हाल लेभल–२ मा रहेको छ।

आवश्यक स्रोत–साधनको व्यवस्थापन गर्न सके नेपाल प्रहरी पनि निकट भविष्यमै लेभल–३ मा पुग्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको सहभागिता थप विस्तार गर्न नेपालले प्राथमिकता दिएको बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका