सिरहा । सिरहा–अर्नामा गाउँपालिका–५ स्थित स्वास्थ्य चौकीमा म्याद सकिएको ट्याब्लेट बिरामीलाई वितरण गरिएको घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उपचारका नाममा बिरामीको स्वास्थ्यसँग खेलवाड गरिएको भन्दै सेवाग्राहीहरूले कडा आपत्ति जनाएका छन्।
स्थानीयका अनुसार नियमित अनुगमन नहुनु, औषधिको स्टक समयमै चेक नगर्नु र स्वास्थ्यकर्मीको लापरवाहीका कारण यस्ता घटना दोहोरिइरहेको छ। तर यतिबेलासम्म कसैले गम्भीरता नदिएको आरोप उनीहरूको छ। “बिरामी त उपचारका लागि आउँछन्, तर उल्टै स्वास्थ्य जोखिममा पार्ने काम भइरहेको छ,” एक स्थानीयले कडा आक्रोश व्यक्त गरे।
घटना बाहिरिएपछि सम्बन्धित स्वास्थ्य चौकी प्रमुख र गाउँपालिकालाई तत्काल छानबिन गर्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।


