राष्ट्रिय सतर्कता केन्द्रको आयोजना तथा जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको सहआयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले कर्मचारी संयन्त्र सुधार र जनप्रतिनिधिबीचको सहकार्यलाई सुशासनको मुख्य आधार बताएका हुन् ।
जिल्ला समन्वय समितिका सभापति दिनेशकुमार महतोले कार्यालयहरूमा कर्मचारी उपस्थितिको अवस्था सन्तोषजनक नरहेको बताए । उनले अझै पनि २६ प्रतिशत कर्मचारी अनुपस्थित रहने अवस्था दुःखद भएको उल्लेख गर्दै सबै निकाय जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले प्रमुख प्रशासकीय अधिकृतको अस्थिरता र अनुपस्थितिले सेवा प्रवाह प्रभावित भएको बताए । उनले कानुनी जटिलता भए स्पष्ट टिप्पणीसहित निर्णय गर्नुपर्ने, तर फाइल रोक्ने प्रवृत्ति उचित नभएको बताए ।
धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले स्थानीय तहमा करारका कर्मचारीको संख्या बढ्दै जाँदा आर्थिक भार र कार्यसम्पादन दुवै प्रभावित भएको बताए । बारम्बार हाकिम परिवर्तन हुने परिपाटीले काममा समस्या थपिएको उनको भनाइ थियो ।
गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले स्थायी दरबन्दीअनुसार कर्मचारी नहुँदा बाध्य भएर करारमा कर्मचारी र शिक्षक राख्नुपरेको बताए ।
लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले कार्यालय प्रमुखहरूको कार्यशैली सुधार भए मात्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने बताए । कर्जना नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले प्रभावकारी अनुगमनमार्फत धेरै सुधार सम्भव रहेको धारणा राखिन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विभिन्न सरकारी निकायबीच समन्वय अभाव रहेको बताए । जनशक्ति अभावका बीच पनि प्रशासन नीति र कानुनअनुसार काम गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टले सिरहाका ३० वटा कार्यालयको अनुगमन गरिएको जानकारी दिए । कार्यक्रममा उठेका विषय सम्बन्धित निकायमा पठाइने र सुशासनका लागि सबै सरकारी निकाय समान रूपमा जिम्मेवार हुनुपर्ने उनले बताए ।
कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र सुशासन स्थापनाका लागि साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए ।


