सिरहा। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहामा कार्यरत ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनालाई उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै २०८२ पुस महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, कार्यालय सञ्चालन तथा जनसेवामूलक कार्यमा उल्लेखनीय योगदान पुर्याएको आधारमा निरीक्षक तिमिल्सिनालाई उक्त सम्मान प्रदान गरेको हो।
निरीक्षक तिमिल्सिनाले स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाएका थिए। सडक दुर्घटना न्यूनीकरणका लागि ब्ल्याक स्पट पहिचान, रिफ्लेक्टर बोर्ड तथा टेप जडान, कमजोर दृश्यता भएका क्षेत्रमा विशेष सावधानी अपनाउने व्यवस्था मिलाउनु उनका प्रमुख उपलब्धि रहेको कार्यालयले जनाएको छ।
त्यसैगरी, स्लो–मुभिङ सवारीसाधनका कारण हुने सम्भावित दुर्घटनाको जोखिम घटाउन उनले प्रभावकारी पहल गरेको जनाइएको छ। विभिन्न भिआईपी तथा भिभिआईपी सवारी आवागमनका क्रममा ट्राफिक व्यवस्थापनलाई चुस्त, सुरक्षित र व्यवस्थित बनाउँदै उनले उच्च कार्यकुशलता, इमान्दारिता र अनुशासनको परिचय दिएको कार्यालयको भनाइ छ।
उत्कृष्ट कार्यको कदरस्वरूप निरीक्षक तिमिल्सिनालाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको छ। यस सम्मानले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूलाई समेत थप जिम्मेवार, सक्रिय र सेवामुखी भएर काम गर्न प्रेरणा मिल्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।


