Sunday, November 8, 2026
Homeसामाचारसिद्धबाबा सुरुङमार्गको निर्माण तीव्र, ५७ प्रतिशत भौतिक प्रगति

सिद्धबाबा सुरुङमार्गको निर्माण तीव्र, ५७ प्रतिशत भौतिक प्रगति

तानसेन (पाल्पा), ३१ असारः राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा अघि बढिरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माणाधीन यो सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले अझ तीव्रता पाएको हो।

सुरुङमार्ग आयोजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७.५१ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ।

उहाँले जानकारी दिनु अनुसार, मुख्य सुरुङ (टनेल) को एक हजार ८९ मिटर इन्भर्ट (भुइँ भागको ढलान) निर्माण सम्पन्न भइसकेको छ।
दायाँ–बायाँ लेपन (लाइनिङ) को ८३४ मिटर काम सकिएको छ भने हाल थप २९२ मिटरमा लाइनिङ को काम भइरहेको छ।

सुरुङमार्गमा तीनवटा बाइपास छन्:

पहिलो बाइपास १५१ मिटर – इन्भर्ट: १४५ मिटर, लाइनिङ: १२४ मिटर

दोस्रो बाइपास १६१ मिटर

तेस्रो बाइपास १३० मिटर – इन्भर्ट: १२५ मिटर, लाइनिङ: ३० मिटर

मुख्य सुरुङमार्ग दुई लेनको हुनेछ, जसको लम्बाइ १,०८९ मिटर, चौडाइ १०.५ मिटर र उचाइ करिब ७ मिटर रहनेछ।
इन्भर्ट र लाइनिङको काम सकिएपछि एक–दुई महिनाभित्र लाइटिङ, सञ्चार र सुरक्षा उपकरण जडान सुरु हुने आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो।

उहाँका अनुसार मुख्य टनेलमा आपत्कालीन सवारीसाधन चलाउन सक्ने अवस्था निर्माण भइसकेको छ। सुरुङमार्गको कार्य प्रगतिलाई जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवाला निकायहरूले नियमित अनुगमन गरिरहेको छ।

यसैबीच, प्रतिनिधिसभाका सांसद ठाकुरप्रसाद गैरेले सुरुङमार्ग निर्धारित समयमा सम्पन्न गर्न जनप्रतिनिधिको सहकार्य आवश्यक रहेको बताउनुभयो।

२०७९ सालदेखि निर्माण सुरु गरिएको यो सुरुङमार्गको लम्बाइ १,१२६ मिटर रहेको छ।
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा सुरु गरेको यो आयोजना २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।

सुरुङमार्ग निर्माण भइरहेको क्षेत्र सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो जोखिमयुक्त मानिन्छ।
सुक्खा मौसममा पनि धुले पहिरो खस्ने भएकाले उक्त खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण थालिएको हो।
इन्जिनियर ज्ञवालीका अनुसार यस सडकखण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र म्याग्दी सम्म सवारी साधन सञ्चालन हुने गर्छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका