तनहुँ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको सिद्धगुफाको प्रभावकारी प्रवर्द्धनका लागि गाउँपालिका सक्रिय रूपमा जुटेको छ। प्रचुर सम्भावना हुँदाहूँदै पनि पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको यो गुफामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विशेष पहल थालिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।
पृथ्वीराजमार्गबाट करिब २० मिनेट पैदलमै पुगिने सिद्धगुफाको बारेमा पर्याप्त प्रचारप्रसार भएमा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्ने र बन्दीपुरको समग्र पर्यटन क्षेत्र तथा स्थानीय आयआर्जनमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष थापाको भनाइ छ। उनका अनुसार गुफाको सौन्दर्यकरण, रङरोगन, सिँढी मर्मत, र बस्ने आरामस्थल निर्माणजस्ता कामका लागि गाउँपालिकाले बजेट विनियोजन गरिसकेको छ।
सिद्धगुफा धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यहाँ सिद्धबाबाको दर्शन गर्ने र चिताएको मनोकामना पुरा हुने विश्वासका कारण हरेक वर्ष बोलबम मेला लाग्ने गरिएको छ। गुफाको व्यवस्थापन गर्दै आएको सिद्धगुफा विकास समिति सक्रिय नभएकाले गाउँपालिकाले नयाँ अधिवेशन गर्ने निर्देशन दिएर व्यवस्थापनको जिम्मा आफैं लिन तयारी गरेको छ।
गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर बजारबाट गुफातर्फ झर्ने बाटोमा रेलिङ र ढुङ्गा छापिएको पैदलमार्ग निर्माण गरिएको छ। साथै नवप्रवर्तन साझेदारी कोषमार्फत करिब रु १ करोड ३९ लाखमा सौन्दर्यकरण कार्य सम्पन्न गरिएको अध्यक्ष थापाले जानकारी दिए।
गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङका अनुसार चालु आवमा सिद्धगुफा प्रवर्द्धनका लागि रु १० लाख छुट्याइएको छ। स्थानीयवासी र पर्यटकहरूले पनि गुफा आकर्षक भएको र व्यवस्थित प्रचारप्रसार तथा पूर्वाधार विकास भएमा यो स्थान प्रमुख गन्तव्यको रूपमा स्थापित हुन सक्ने धारणा व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पनि गुफाभित्रै कार्यसमिति बैठक आयोजना गर्दै सिद्धगुफाको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
विसं २०४४ चैत १३ गते पहिलोपटक पत्ता लागेको यो गुफा प्राकृतिक संरचना र ऐतिहासिक मूल्यका आधारमा करिब ३५ सय वर्ष पुरानो मानिन्छ। करिब ८०० मिटर लम्बाइको गुफाभित्र चुनढुङ्गा पग्लेर बनेका विभिन्न प्राकृतिक आकृतिहरू—देवता, जनावर तथा चराचुरुंगी जस्ता रूप—देख्न सकिन्छ। यहाँ भेटिएका पुरातात्त्विक सामग्री इसं १६औँ र १७औँ शताब्दीअघिका रहेको अनुमान गरिएको छ।


