Sunday, November 8, 2026
Homeसामाचारसिंहदरबारभित्र संचालित क्यान्टिनमै ठगिन्छन् उपभोक्ता

सिंहदरबारभित्र संचालित क्यान्टिनमै ठगिन्छन् उपभोक्ता

काठमाडौँ। सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूमा वस्तुको मूल्य अनियमित राखेर उपभोक्तालाई ठग्ने अभ्यास भएको पाइएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनअनुसार, क्यान्टिन सञ्चालकहरूले टेन्डर प्रक्रियामा सस्तो मूल्य देखाएर प्रतिस्पर्धा जित्ने तर उपभोक्ताबाट धेरै शुल्क असुल्ने गरेको भेटिएको छ। उदाहरणका लागि, चिया ५ रुपैयाँ, अण्डा ५ रुपैयाँ र लस्सी १५ रुपैयाँ राखेर टेन्डर जित्दा पछि चियालाई २० रुपैयाँ र लस्सीलाई ५० रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको छ।

अनुगमनमा टेन्डर मूल्यभन्दा तीन–चार गुणा बढी मूल्य असुल गरिएको पाइएको छ। साथै, उपभोक्ताबाट लिएको पैसाको बिल जारी नगर्ने, सम्झौता अनुसारको सेवा र मूल्य सूची पालना नगर्ने र कागजात तथा मेनु उपलब्ध नगराउने जस्ता समस्या पनि भेटिएका छन्।

यो समस्या सिंहदरबार मात्र सीमित नभई सर्वोच्च अदालत र वीर अस्पतालका क्यान्टिनहरूमा पनि देखिएको विभागले जनाएको छ।

बिहीबार गरिएको अनुगमनमा १४ वटा फर्ममा निरीक्षण गरिएको थियो। यसमध्ये ६ वटा होटल, रेस्टुरेन्ट तथा क्यान्टिनमा अनियमन भेटिएपछि बागबजारको पद्मकन्या क्याम्पसको बागेश्वरी चमेना गृहलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। सिंहदरबारका दुई क्यान्टिन, नेपाल ल क्याम्पसको क्यान्टिनसहित ५ वटा होटल र रेस्टुरेन्टलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै, जावलाखेलको रेडिमेड कपडा पसललाई २० हजार रुपैयाँ र न्यू सनसाइन विड्स सपलाई ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ। बाँकी ६ वटा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका