काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेपछि प्रहरीले उनलाई सिंहदरबारबाटै पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहले बोलाएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ।
रसुवालगायत बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले सोमबार छलफल गरेका थिए। उक्त बैठकमा तामाङ पनि सहभागी थिए। बैठकमा सहभागी आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले तामाङलाई प्रहरीले पक्राउ गरेर लगेको जानकारी दिए।
तामाङविरुद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबारमार्गले गत वैशाख २८ गते काठमाडौं जिल्ला अदालतसँग पक्राउ अनुमति मागेको थियो। अरुण अर्यालको जाहेरीका आधारमा नेपाल सरकार वादी र वीरबल तामाङ प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न अनुमति मागिएको थियो।
प्रहरीले अदालतमा पठाएको पत्रमा जाहेरी तथा बैंकिङ विवरणबाट तामाङ घटनामा संलग्न रहेको देखिएको भन्दै पक्राउ अनुमति मागिएको उल्लेख थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम तामाङलाई पक्राउ गर्न अनुमति दिएको थियो।
सोही पक्राउ अनुमतिका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।
तामाङ नुवाकोटको किस्पाङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। काठमाडौं महानगरपालिका–१६, नयाँबजारमा उनको ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर सञ्चालनमा रहेको छ। उनीमाथि ठगीसम्बन्धी थप आरोपसमेत रहेको बताइएको छ।


