अमेरिका- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगर्थनसँग भेटवार्ता गरेका छन्। विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका मन्त्री खनालले ‘साइडलाइन’ बैठकका क्रममा राष्ट्रपति थरमनसँग भेट गरेका हुन्।
भेटका अवसरमा मन्त्री खनालले नेपालमा भइरहेको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताका विषयमा जानकारी दिएका थिए।
राष्ट्रपति थरमनले द्रुत आर्थिक समृद्धि हासिल गर्न पाँच प्रमुख पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। उनले मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमार्फत तीव्र आर्थिक विकास सम्भव हुनेमा जोड दिएका थिए।
त्यस्तै, अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) का कार्यवाहक क्षेत्रीय उपाध्यक्ष एलेन फरलेमुससँग पनि भेटवार्ता गरेका छन्।
भेटमा आइएफसीसँगको साझेदारी सुदृढ पार्ने, नेपालको निजी क्षेत्रको विकासका लागि सहकार्य गर्ने लगायतका आर्थिक विषयमा छलफल भएको वासिङ्टन डीसीस्थित नेपाली दूतावासले जनाएको छ।
भेटका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थ मन्त्रालयका अधिकारीहरू र आइएफसीका प्रतिनिधिहरू सहभागी थिए।


