ढोरपाटन (बागलुङ): सालझण्डी–ढोरपाटन सडक आयोजना १४ वर्ष बितिसक्दा पनि ३० प्रतिशत मात्रै सम्पन्न भएको छ। विसं २०६७ मा सुरु भएको यो आयोजनाले पहाडी जिल्लालाई तराईसँग जोड्ने लक्ष्य राखे पनि कामले अपेक्षित गति लिन सकेको छैन। रुपन्देहीको सालझण्डीबाट सुरु भई पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ हुँदै पाँच जिल्लालाई जोड्ने यो सडक नेपालको एकमात्र सिकार आरक्ष, ढोरपाटन, जोड्ने मुख्य मार्गका रूपमा रहेको छ। तर, ट्र्याक खुलेको यति लामो समय बितिसक्दा पनि सडकको स्तरोन्नति हुन सकेको छैन।
यो सडक १९७ किमि लामो भए पनि अहिलेसम्म केवल १८ किमि मात्र कालोपत्र गरिएको छ। सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका अनुसार रुपन्देहीमा ४.५ किमि र अर्घाखाँचीमा १३.५ किमि मात्रै कालोपत्र सम्पन्न भएको छ। आयोजनाका सूचना अधिकारी, इञ्जिनियर कृष्टिना थापाका अनुसार पाँच जिल्लाका विभिन्न खण्डमा अहिले ग्राभेलिङको काम भइरहेको छ।
इञ्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किमि खण्डमा ग्राभेलिङ भइरहेको छ भने रुपन्देही र पाल्पाको कञ्चनखोला–खुर्साने खण्डमा १३.५ किमि सडक कालोपत्र हुँदैछ। पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पतौटसम्मको २२ किमि खण्डमा पनि कालोपत्रको काम चलिरहेको छ।
यस्तै, अर्घाखाँचीको माटेदेखि भण्डारासम्म सात किमि, गुल्मीको पुर्कोटदहदेखि सिर्सेनीसम्म १९ किमि र सिर्सेनीदेखि अर्खबाङसम्म ८.२ किमि सडक कालोपत्र भइरहेको थापाले जानकारी दिनुभयो। तर, अर्घाखाँचीमा १८ किमि र गुल्मी तथा बागलुङमा सात-सात किमि गरी कुल ३२ किमि सडक स्तरोन्नतिको काम अझै सुरु हुन सकेको छैन। पर्याप्त बजेट अभावका कारण आयोजनाको प्रगति सुस्त भएको थापाको भनाइ छ।
ट्र्याक खुलेको लामो समयसम्म स्तरोन्नतिको काम नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले निकै समस्या भोग्नुपरेको छ। ढोरपाटन–९ का बमबहादुर सुनारका अनुसार साँघुरो सडक, खाल्डाखुल्डी र हिलोका कारण पर्यटकका सवारीसाधन बीच बाटोमै बिग्रने र पर्यटक अलपत्र पर्ने समस्या बढेको छ।
सुनारले बर्खाको समयमा त यातायात ठप्प हुने स्थिति छ भने हिउँदमा पनि सहज रूपमा गाडी सञ्चालन गर्न सकिने अवस्था नरहेको बताउनुभयो। “सडक बनेपछि ठूलो राहत भएको हो, तर लामो समयसम्म कालोपत्र नभएकाले यहाँका हजारौँ स्थानीयवासी र पर्यटकले दुःख पाइरहेका छन्। टाढाबाट ढोरपाटन घुम्न आउने पर्यटकले बाटोको खराब अवस्थाका कारण अर्को पटक आउने योजना नै बनाउँदैनन्,” सुनारले भन्नुभयो।


