Friday, April 17, 2026
Homeदेश र प्रदेशसामूहिक बलात्कार प्रकरण : १४ वर्षपछि अभियुक्त ज्वाइँ पक्राउ

सामूहिक बलात्कार प्रकरण : १४ वर्षपछि अभियुक्त ज्वाइँ पक्राउ

राजविराज : एउटै परिवारको बुवा, छोराहरू र ज्वाइँ मिलेर गरेको सामूहिक बलात्कारको घटनाको १४ वर्षपछि एक अभियुक्त पक्राउ परेका छन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ओमप्रकाश मुखियालाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

पक्राउ परेका मुखियाले आफू फरार सूचीमा रहेको अभियुक्त नभई फरक व्यक्ति भएको दावी गरेका छन्। यसअघि सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका श्यामा मुखियाले भने चारवटा नाम राखेका नातामा भिनाजु पर्ने ओमप्रकाश मुखिया फरार अभियुक्त नै भएको भनेर सनाखत गरेका छन्।

भारतमा अपराध गरेर आएका उनी लामो समयदेखि नेपाल बसेर नागरिकता लिएको चर्चा गाउँमा छ। उनको नाम नै चारवटा रहेको प्रहरीले जनाएको छ। लोकेन्द्र, लफेन्द्र, जोगिन्द्र भनेर बोलाउने ओमप्रकाश एउटै व्यक्ति भएको र जाहेरवालीले नै पहिचान गरी लिखित सनाखत गरेकाले अदालतमा बुझाइएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए। अदालतले उनलाई कैदसजाय पुरा गर्न राजविराज कारागार पठाएको छ।

पीडितकी आमा जाहेरवालीले दिएको जानकारी अनुसार ०६४ असोज ९ गते दिउँसो गाउँका आठदेखि १२ वर्षका ६ जना नाबालक बालबालिका मिलेर भैंसी चराउन सँगै कोशी टप्पु कटैया पलार गएका बेला आरोपितहरूले बालकलाई हतियार देखाई डोरीले बाँधी कुटपिट गरे पश्चात बालिकालाई घना काँसघारीमा लगेर पालैपालो बलात्कार गरेका हुन्।
सप्तरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश श्रीप्रसाद सञ्जेलले २०७५ असार ५ गते नाबालिकालाई सामूहिक बलात्कार गरेको अभियोग ठहर गर्दै मुखियासहित चार जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ।

अदालतले आरोपितहरूलाई सजायको फैसला गरेपनि क्षतिपूर्तितर्फ ध्यान नदिएको भन्दै पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलासमा ०७५ पुस २७ गते पुनरावेदन दिएका थिए। उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दिपेन्द्र अधिकारीको इजलासले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिबापत जनही २० हजार रुपियाँका दरले भराई पाउने भनी ०७७ मङ्सिर ८ गते आदेश गरेको शाखा अधिकृत रामचन्द्र बस्नेतले बताए।

आरोपितमध्ये श्यामा मुखिया ०७७ चैत ९ गते पक्राउ भई राजविराज कारागारमा कैद सजाय भोगिरहेका छन्। श्यामाका दाजु डोमीको मृत्यु भएकाले सजाय माफी भएको छ। उनीहरूको बुवा बिकु फेला परेका छैनन्।

एसपी धमलाका अनुसार अदालतको फैसला कार्यान्वयनलाई अभियानका साथ खोजतलाश गर्ने क्रममा श्यामा पक्राउ परेको तीन महिनामा ओमप्रकाश पनि पक्राउ परेका हुन्। आर्थिक वर्ष ०७७–०७८ को ११ महिनाको अवधिमा सप्तरी प्रहरीले फरार रहेका १ हजार ८ जना अभियुक्तहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। अदालतको फैसला कार्यान्वयनअन्तर्गत आर्थिक वर्षको हालसम्म पक्राउ परेकाहरूबाट २१६ वर्ष ३ महिना ६ दिन कैद र १ करोड ५ लाख बढी रूपैयाँ असुल उपर हुने एसपी धमलाले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका