Friday, May 1, 2026
Homeकला/साहित्यसाताका चार कविता

साताका चार कविता

रातोपाटीमा इमेलमार्फत प्राप्त विभिन्न कवितामध्ये यो साता चारजना कविका कविता यहाँ प्रस्तुत गरिएको छ । राकेश कार्कीको गाउँलेपन, मधुकरमणि आचार्यको समृद्धि र सुशासन, उमेश अवस्थीको फुट र मणि कुमार श्रेष्ठको विकास र सूचना शीर्षकका कविताहरू यहाँ हामीले पाठकसमक्ष प्रस्तुत गरेका छौं ।

रातोपाटीको साहित्य स्तम्भमा प्राप्त हुने कविताहरूलाई हामीले सामूहिकरुपमा पस्कने प्रयास गर्दै आइरहेका छौं । यसबीचमा केही ‘ग्याप’ भएता पनि दसैँका बेला प्राप्त भएका समसामयिक कविताहरूलाई हामीले ‘साताका कविता’ का रुपमा पस्केका हौं ।

१. गाउँलेपन

–राकेश कार्की

बदलेर कहाँ बदलिन्छ र ?

बदलिन खोज्छन् मानिसहरू

गाउँबाट आएको दुईचार महिनामै

सहरिया बन्न खोज्छन्

आखिर के कमी थियो र गाउँलेपनमा

देश छोडेको केही दिनमै

विदेशी नै हुँ जस्तो गर्छन्

आखिर देशकै हुँ भन्दा कहाँ घटिन्छ र ?

 

सहर पुगेपछि

छोडिदिन्छन् धोती सुरुवाल

पाइन्टमै शान बढेझैँ ठानी

शुद्ध गाउँको ठेट बोली छाडी

जानी नजानी अङ्ग्रेजी मिसिएको नेपाली

शुद्ध स्वास्थ्यकारभन्दा

रेस्टुरेन्ट बजारिया खानाको रवाफ

 

विदेशमा त झन्

को लोग्ने मान्छे को स्वास्नी मान्छे

पाइन्ट लाउँदा लाउँदै कति लोग्ने मान्छे

सारी चोलो लाउने कति स्वास्नी मान्छे

त्यति सभ्य भेषभूषा छोडी

एकै चोटि कट्टुमा झर्छन्

नेपाली टोनमै कनीकुथी अङ्ग्रेजी

बिच्च बिच्चमा नेपाली मिसाउँछन्

कपालमा रातो दल्ने कति

अनुहारमा गोरो दल्ने काति

हलिउड लेखेको टिसर्ट लगाउने

नक्कल गर्दै जिब्रो बटारेर बोल्ने

आफूलाई विदेशी नै हुँ भनी ठान्ने

 

तर पनि काग कालै हुन्छ

बकुल्ला सेतै हुन्छ

कागको हुलमा बकुल्ला चिनिहालिन्छ नि ?

 

बदलेर कहाँ बदलिन्छ र

यो रूप यो बोली

यो संस्कृति यो रीतिरिवाज

आफ्नो विशेषता

आफ्नो गाउँ

आफ्नो देशको पहिचान

झल्किहाल्छ

हाम्रो हाउभाउमा

हाम्रो प्रक्रियामा

किनकि हाम्रो शरीरमा

हाम्रो रगतको कणकणमा

आफ्नै गाउँ

आफ्नै देश

बगिरहन्छ

जन्मजन्ममा

सन्तान दरसन्तानको रगतमा

बगिरहन्छ जुगजुगसम्म

बदलेर कहाँ बदलिन्छ र ?

००००

२. समृद्धि र सुशासन  

–मधुकरमणि आचार्य

च्यापिएका छन् –औँलाहरू

बाँधिएका छन् –समृद्धिमा लम्कने पाइलाहरू

अठ्याइएको छ –घाँटी

निसास्सिएको छ –मान्छे

के उसलाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार छैन ?

 

कराउन खोज्छ, चिच्याउन खोज्छ तर सक्तैन

केवल आँखाबाट बगेका प्रथम स्तरका नदीले बुझाउन खोज्छन् –सत्यता

द्वितीय स्तरका नदी आँखाबाट ओठसम्म पुग्छन् र बिलाई जान्छन्…

तृतीय स्तरका नदी आँखाको डिलसम्म नआई सुकी जान्छन्…

बाँधिएको छ रुखमा उसको शरीर

बर्सिंदैछन् कोर्राहरू…

 

मुखमा जबरजस्ती कोच्याएको छ– माटो

कराउन खोज्छ, चिच्याउन खोज्छ तर सक्तैन

के उसको बाँच्ने अधिकार छैन र ?

 

छेवैमा छ उसको झोला

आतङ्ककारीले खोलेर हेर्छ उसको स्वेत झोला ।

झोलाभित्र छन्

आशाका दियो

समृद्धिको यात्रा

सुशासनका आयामहरू

राष्ट्रियताका ध्वजाहरू

निष्पक्षता र प्रतिबद्धताका घोषणाहरू

सूचना र पारदर्शिताका फेहरिस्तहरू

आतङ्ककारी उसको परिचयपत्र पढ्न खोज्छ

नाम : नेपाल

जात : देश

धर्म : मानव धर्म

 

आतङ्ककारी आफ्नो परिचयपत्र निकाल्छ र दाँज्न खोज्छ

नाम : भ्रष्टाचार

जात : सङ्गठित अपराध

धर्म : शासन, विकास र सेवा तहसनहस

पेसा : असफल राज्य घोषणा

 

ऊ मुस्कुराउँछ

आँखा राता राता पार्दै  पुनः

नेपालको शरीरमा कोर्रा

हान्न थाल्छ… ।

३. फुट

उमेश अवस्थी ‘आदर्श’

आकाश रुनुपूर्व नै रोइसकेको थियो धरती

तर म रोएको धरतीमा बसेर

रोएको आकाश हेरिरहेछु आजसम्म पनि

आकाशको बादल फाट्नुपूर्व नै

फाटिसकेको छ धरतीको पेट ।

 

त्यही फाटेको धरतीको फाटेको पेटमा बसेर

आफ्नो पेट फुटाइरहेछु आज म

यहाँ केवल आज फाटेका फुटेका

र फुटाउनेहरू बाँचिरहेछन्

नपत्याए हेर्नूस्

आमाको पेट फुटाउनेहरू

धरतीमा मान्छे भएर बाँचेका छन्

मित्रता फुटाउनेहरू

यो ब्रह्माण्डलाई फुटाएर साना साना देश बनाइरहेछन्

कोहीकोही भाइहरू घर फुटाएर

साना–साना घर बनाइरहेछन्

देश फुटाएर प्रदेश बनाइरहेछन्

यहाँ केवल फुटाउनेहरू मात्र बाँकी छन् ।

 

हुन त तिमी पनि फुटाउनेवाली हौ

तिमीले आफ्नै आमाको पेट त फुटायौ

जाबो मलाई फुटाउन तिमीलाई

के समय लाग्ला र ?

यसैले मलाई तिम्रो कुनै विश्वास छैन

ए मनुष्य, तिमी केवल फुटाउने गर्छौ

नपत्याए सम्झ

तिमीले आफ्नै आमाको पेट फुटाएर

धरतीमा आएका हौ

ए मनुष्य, तिमी केवल फुटाउने काम गर्छौ

यसैले मलाई तिम्रो कुनै विश्वास छैन  ।।

 

यहाँ सबैले सबैको विश्वास गर्नू

तर मनुष्यको विश्वास कसैले नगर्नू

किनकि मनुष्यले फुटाउने काम गर्छ

केवल फुटाउने काम गर्छ मनुष्यले

यदि सक्थ्यो भने मनुष्यले

आफ्नै घरभित्र राख्थ्यो

ब्रह्माण्डलाई फुटाएर,

तर नसकेर मात्र आज ब्रह्माण्ड बाँचेको छ

त्यही ब्रह्माण्डको पनि

पेट फुटाइसकेको छ मनुष्यले ।

००००

४. विकास र सूचना

-मणिकुमार श्रेष्ठ ‘सिजन’

मेरा पूर्खाले

ढुङ्गामा कुँदेर

सुखदुःखका कुरा

आदन प्रदान गरेको

हिजै जस्तो लाग्छ

थाप्लीमा नाम्ली लगाई

खबर बोकेर गएको

आजै जस्तो लाग्छ ।

 

विदेशबाट आउने विमानबाट

ट्रकका ट्रक

चिठीका पोकाहरू आउँदा

निर्वाध एउटा टिकटको भरमा

विश्वका कुना कुना

खबर लैजाने

हुलाकी दाइ गाउँ आउँदा

आफन्त नै आएजस्तो

लाग्थ्यो ।

 

आफन्तको एक पन्ना चिठीमा

रमाउने मेरो जीवन

आज सञ्चारको नवीन

युगको प्रयोग गरिरहेको छ

नवीनसँगै

मौलाएका कल्कीहरूले

मेरो संस्कारमा

आघात पुर्याइरहेको छ

 

समयको दौरानमा

चिठी पनि लेख्न नसक्ने

मेरी दिदीको

प्रेमपत्र लेखिदिएको याद

ताजै छ मनसपटलमा

अनि पल्लाघरे हजुरबाको

खबर आउँदा दोहोर्याई दोहोर्याई

सुनाएको सम्झना ताजै छ

तर आज

पल्लाघरे हजुरबाको खबर

आउन छाड्यो

तल्लाघरकी दिदीको पत्र पनि

आउन छाड्यो

दिदी, आमा, बुबा, दाजु, हजुरबा

सबैले अहिले

आफन्तको अनुहार हेर्दै

कुरा गर्दा

समयले मानिसलाई

सूचना र सञ्चारसँगै

कुदाइरहेछ ।

 

आवाको कुरा हरायो

टेलिफोनको

संवाद हराउँदै गएको

यो परिवेशले

विश्वभरि फैलिएको

हुलाक मार्गलाई

विस्थापन गरी

इन्टरनेट र दूरसञ्चारको

माध्यमले विछोडिएका

मनहरू आपसमा जोडी

सगुन समाज निर्माणका लागि

सूचना विकासको युगको

आवश्यक भएको छ

आखिर ! विकास न हो

विध्वंश भए पनि आवश्यक छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका