Friday, May 1, 2026
Homeसामाचारआजदेखि नदी किनारका जोखिमयुक्त बस्ती हटाइँदै, दोस्रो चरण सुरु

आजदेखि नदी किनारका जोखिमयुक्त बस्ती हटाइँदै, दोस्रो चरण सुरु

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाभित्र बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ।

पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती हटाइसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो।

उक्त प्रक्रियालाई व्यवस्थित बनाउन बिहीबार सहरी मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो। बैठकले बस्ती स्थानान्तरणका लागि आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेको छ।

मन्त्रालयका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रंगशालामा ल्याइनेछ। त्यहाँ तीनवटा सहायता कक्ष सञ्चालन गरिने छन्—पहिलोमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा सामाजिक विवरण सङ्कलन, र तेस्रोमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्याङ्क सङ्कलन गरिनेछ।

होल्डिङ सेन्टरमा लैजान नसकिने सामग्रीजस्तै दराज, टेबुल र खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायले सहयोग गर्नेछन्। साथै, आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन बसको व्यवस्था गरिएको छ।

मन्त्रालयले तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवाको व्यवस्था पनि गरेको जनाएको छ। यी सेवा दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा उपलब्ध हुनेछन्।

सङ्कलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ। पहिचान हुन नसकेकालाई होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ भने पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरी पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ।

नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी दोषी ठहरिए कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार सूचना जारी गर्दै विभिन्न स्थानीय तहका नदी किनार तथा सार्वजनिक, पर्ति र निजी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा आज साँझसम्म खाली गर्न आग्रह गरेको थियो।

विपद्को उच्च जोखिममा रहेका ती बस्तीहरू वैशाख १८ गते बिहान ७ बजेदेखि खाली गर्ने कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका