Friday, May 1, 2026
Homeसामाचार‘साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ’ — प्रधानमन्त्री शाह

‘साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ’ — प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्तिको सुरुवात अक्षरको पहिलो वर्ण ‘क’ बाट नभई ‘ज्ञ’ अर्थात् ज्ञानबाट हुने बताएका छन्।

२५७० औँ बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले समाजमा वास्तविक परिवर्तनका लागि केवल साक्षरता पर्याप्त नहुने र गहिरो ज्ञान तथा चेतनाको आवश्यकता पर्ने बताएका हुन्।

प्रधानमन्त्री शाहले बुद्धको जन्मले नेपाल भूमि धन्य भएको उल्लेख गर्दै देश सधैँ अहिंसा र शान्तिको पक्षमा उभिएको बताए। उनले शान्तिका महान् प्रवर्तक बुद्धले देखाएको मार्ग आजको विश्वमा अझ सान्दर्भिक बन्दै गएको धारणा राख्दै विश्वशान्तिको कामना पनि व्यक्त गरेका छन्।

उनले आफ्नो सन्देशमा बुद्धका चार आर्य सत्य—दुःख, दुःखको कारण, दुःखको निवारण र निवारणको मार्ग—को स्मरण गर्दै जीवनका समस्याहरू समाधान गर्ने मूल आधार यही शिक्षामा रहेको उल्लेख गरेका छन्।

अँध्यारोलाई उज्यालोको अभावका रूपमा व्याख्या गर्दै उनले ज्ञानको प्रकाश फैलिँदा अज्ञान स्वतः हट्ने बताए। मानव जीवन सधैँ ज्ञानको खोज र समस्या समाधानको यात्रामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले बुद्ध जयन्तीलाई केवल औपचारिक उत्सवका रूपमा होइन, आन्तरिक ज्ञान र चेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सबैलाई आह्वान गरेका छन्।

बुद्धको दर्शनलाई आत्मसात् गर्दै अघि बढेमा मात्रै व्यक्तिगत र सामाजिक समस्याको समाधान सम्भव हुने र त्यसैबाट वास्तविक क्रान्ति आउने विश्वास उनले व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका