ललितपुर: साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच सहकार्यसम्बन्धी औपचारिक सम्झौता भएको छ। ललितपुरमा आयोजित एक विशेष समारोहका क्रममा साइम कलेजका प्राचार्य अशोकराज पाण्डे र टोक्मा टेक्नोलोजिजका निर्देशक सागर आङदेम्बेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा साइम कलेजका कार्यक्रम निर्देशक सुमन्त गुरुङ साक्षीका रूपमा उपस्थित थिए।
यस सम्झौताअनुसार, विद्यार्थीहरूका लागि इन्डस्ट्रीसँग प्रत्यक्ष सम्बन्धित इन्टर्नशिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्रहरू, ह्याकाथन, र नवप्रवर्तन चुनौतीहरू जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक तथा उद्योगसम्बन्धी सीपमा दक्ष बनाउने लक्ष्य राखिएको छ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघका उपाध्यक्ष तथा एक समर्पित साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारीले यो सहकार्यलाई ‘प्रभावकारी पहल’को रूपमा उल्लेख गर्दै भने, “साइम कलेज र टोक्मा टेक्नोलोजिजको सहकार्यले नेपाली युवालाई उद्योगमै काम गर्न सक्ने दक्ष जनशक्ति तयार पार्न मद्दत पुर्याउनेछ। यो कदम नेपाललाई आइटी हब बनाउने राष्ट्रिय उद्देश्यसँग पनि मेल खान्छ।”
साइम कलेजका प्राचार्य अशोकराज पाण्डेले उद्योग र शिक्षाबीचको सहकार्यलाई अहिलेको आवश्यकता भन्दै भने, “यो समझदारी विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्दै भविष्यको डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण पाइला हो।”
सम्झौता तीन वर्षका लागि प्रभावकारी हुनेछ र परस्पर सहमतिमा विस्तार गर्न सकिनेछ। सम्झौताअनुसार, साइम कलेजले इन्टर्नशिप तथा परियोजनाका लागि विद्यार्थी सिफारिस गर्ने, शैक्षिक सहयोग तथा पूर्वाधार उपलब्ध गराउने, र संकायसँग समन्वय गरी संयुक्त परियोजना अघि बढाउनेछ।
उता, टोक्मा टेक्नोलोजिजले इन्टर्नशिप र अनुसन्धान परियोजनाको अवसर दिने, विद्यार्थी र संकायका लागि उद्योगसम्बन्धी मार्गदर्शन र विशेषज्ञ सत्रहरू सञ्चालन गर्ने, तथा पाठ्यक्रम समिक्षामा सहभागी भई सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्नेछ।
दुवै संस्थाले यो साझेदारीले अनुसन्धान प्रवर्धन, उद्यमशीलता विकास, र विद्यार्थीलाई रोजगारोपयोगी सीपमा सक्षम बनाउने विश्वास व्यक्त गरेका छन्। यस सहकार्यबाट नेपालमा शैक्षिक संस्था र प्राविधिक उद्योगबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।


