Sunday, July 5, 2026
Homeराजनीतिसांसद मनिष झा र ज्ञानेन्द्र शाहीको आरोप: सभामुख पक्षपाती, संसद बिचौलियाको पक्षमा

सांसद मनिष झा र ज्ञानेन्द्र शाहीको आरोप: सभामुख पक्षपाती, संसद बिचौलियाको पक्षमा

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत रास्वपालाई बोल्न दिने सहमति भएको तर बैठकमा त्यो पालना नभएको बताएका हुन्। उनले सभामुखले “झुटो बोलेको” आरोपसमेत लगाए।

झाले भने, ‘बिहान सभामुखसँग भएको छलफलमा पहिला हामीलाई बोल्न दिने भनिएको थियो, तर बैठक सुरु भएपछि त्यो भएन। सभामुखले अभिभावकत्व निर्वाह गर्न सकेनन्, उल्टै पेलेरै लाने शैली देखियो।’

उनका अनुसार मानव तस्करीसँग सम्बन्धित संगठित अपराधमा गृहमन्त्रालयका कर्मचारी र मन्त्रीकै संलग्नता रहेको शंका रहेकोले रास्वपाले पाँच बुँदे मागसहित संसद अवरुद्ध गरिरहेको हो। तर प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग दुई बुँदे सम्झौता गर्दै आन्दोलन रोकेकोप्रति उनले असन्तोष व्यक्त गरे।

यसैबीच, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन्। भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदाहुँदै पनि जबरजस्ती सदन सञ्चालन गरिएको भन्दै उनले राप्रपाले संसद बहिष्कार गरेको जनाए।

शाहीले भने, ‘सांसदले उठाएका गम्भीर विषयमा संसदले चासो नदेखाउने, सभामुख बिचौलियाको पक्षमा उभिने, यस्तो संसदमा बस्नुको औचित्य छैन।’ उनले माओवादी अध्यक्ष प्रचण्डमाथि पनि ‘छेपारो प्रवृत्तिमा काम गर्दै आएको’ आरोप लगाए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका