Sunday, April 19, 2026
HomeNRN चुनाव बिशेषसहमतिपछि पनि एनआरएनएमा ‘गाईजात्रा’, रोकिएन घलेको समानान्तर सम्मेलन

सहमतिपछि पनि एनआरएनएमा ‘गाईजात्रा’, रोकिएन घलेको समानान्तर सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान भएको भनिए पनि पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा समानान्तर रूपमा १० औँ विश्व सम्मेलन भएको छ । अर्थमन्त्री जनार्दन शर्माको आतिथ्यमा मंगलबार विश्व सम्मेलन राजधानीको एक तारे होटलमा आयोजना गरिएको हो ।

विश्व सम्मेलनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष शेष घले, उनकी श्रीमती जमुना घले, उपाध्यक्ष सोनाम लामासहित केही एनआरएनए अभियन्ताहरूको सहभागिता रहेको थियो ।

गएराति एनआरएनएभित्र अध्यक्षका प्रत्यासी कुल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । आचार्य घलेसँगै समानान्तर गतिविधिमा सक्रिय रहेकामा अन्ततः सहमतिको बिन्दुमा आएका हुन् ।

सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको छ भने त्यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आचार्यको सहभागिता रहेको थियो । उनले एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए ।

आचार्यसमेतको संलग्नतामा समानान्तर विश्व सम्मेलन भनिएकामा सहमतिपछि आचार्यलगायतको ठूलो समूह घलेको भेलामा अनुपस्थित भए ।

घलेको विश्व सम्मेलनमा आधा दर्जन हाराहारीमा मन्त्रीलाई बोलाइएको भएपनि अर्थमन्त्री शर्मामात्रै उपस्थित रहे । अर्थमन्त्री शर्माले आफूलाई घले र आचार्यले नै सम्मेलनका लागि बोलाएको भएपनि आचार्यलाई नै नदेखेको भन्दै खिन्नता प्रकट गरे ।

‘४ दिन अघि शेष घलेजी र कुल आचार्यजी मलाई आमन्त्रण गर्न जानु भएको थियो । तर, आज मलाई यहाँ आइसकेपछि केही फोनहरू आए । यो कार्यक्रममा मैले कुल आचार्यलाई पनि देखिन’, उनले भने, ‘म त यहाँ एनआरएनएको संरक्षकले आमन्त्रण गरेपछि आएको हुँ । उहाँ सफल व्यवसायी र अभिभावक पनि हुनुभएको हुनाले आएको हुँ । तपाईँले सबैलाई मिलाउनु हुन्छ भन्ने विश्वास लिएको छु ।’

उनले सरकारले एनआरएनएबाट ठूलो अपेक्षा लिएको भन्दै एकताबद्ध भएर काम गर्न पनि अनुरोध गरे । उनले राजनीतिमा आएको विकृत एनआरएनएमा देखिएको पनि बताए । उनले विधानलाई मिचेर काम नगर्न पनि एनआरएनएहरूलाई अनुरोध गरे ।

यस्तै कार्यक्रममा बोल्दै शेष घलेले एनआरएनएभित्रको बेथितिलाई निरूपण गर्न जरुरी रहेको भन्दै आफूहरूले सोही उद्देश्यले विश्व सम्मेलनको आयोजना गरेको बताए । उनले एनआरएनएको नेतृत्वमा रहेकाहरू बलियो अवस्थामा नरहेकै कारण संस्थामा भूकम्प आएको पनि बताए ।

उनले कार्यक्रममा सहभागी भएकामा अर्थमन्त्रीको प्रशंसा पनि गरे । कार्यक्रममा बैंक अनिल केशरी शाहको समेत सहभागिता रहेको थियो ।

घलेको विश्व सम्मेलन चल्दै गर्दा बालुवाटारमा पत्रकार सम्मेलन

घलेको विश्व सम्मेलनको उद्घाटन सत्र चल्दै गर्दा यता बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष कुमार पन्तसहित अध्यक्षका प्रत्यासी कुल आचार्य, बद्री केसी र रविना थापाको संयुक्त पत्रकार सम्मेलन भयो ।

पत्रकार सम्मेलनमा तीन जनै उम्मेदवारले गम्भीर छलफलपछि संस्था जोगाउन सफल भइएको र अब विवाद समाधान भएको दाबी गरे । पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी बद्री केसीले संघको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट संघको नेतृत्व गर्ने  सहमति भएको बताए । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उनले बताए । उनका अनुसार १० औँ विश्व सम्मेलन मार्च २४ र २५ मा चुनावी प्रक्रिया टुङ्गिएपछि हुनेछ । मितिमा अब सहमतिको आधारमा नै कार्यसमिति चयन गरिने बताइएको छ ।

‘वास्तवमा गैरआवासीय नेपाली संघ केवल संस्था मात्रै होइन, यो विश्वभरि रहेका हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूको एउटा पवित्र मन्दिर हो’, केसीले भने, ‘हामी सबैको साझा आस्था, विश्वास र अभियान हो । हामी सम्पर्क गैरआवासीय नेपालीहरूको पवित्र मन्दिर गैरआवासीय नेपाली संघलाई हामीले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक सङ्कल्प पनि गर्न चाहन्छौँ ।’

अहिलेको विशेष र असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर संघको एकतालाई अक्षुण्ण राख्नका लागि सहमतिको आधारमा दशौं महाधिवेशन गर्नु भन्दा अर्को श्रेष्ठ विकल्प नभएको उनको भनाइ छ ।

 पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजना गरिएको भेला अवैधानिक भएकोले सहभागी नहुन पनि अनुरोध गरिएको छ । केसीले सहमतिपछि संस्थाभित्रको समानान्तर गतिविधि बन्द भएको जिकिर गर्दै अदालतमा रहेका सबै मुद्दा फिर्ता लिने समझदारी भएको पनि बताए ।

यस्तै आचार्यले संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भइ एउटा निचोडमा पुगिएको बताए । यो सहमति संस्था बचाउने बचाउने उद्देश्यले भएको बताउँदै यसअघिका सबै समानान्तर कार्यहरूलाई स्थगित गर्ने सहमति भएको जानकारी दिए । यस्तै अध्यक्षकी अर्का प्रत्यासी थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढिनुपर्ने बताइन् ।

एनआरएनएमा काँग्रेस र एमालेमा कित्ताकाट हुँदा विवाद रहँदै आएको थियो । यो विवाद हाललाई निरूपण भएपनि घले भने अझै चिढिएका हुन् । अभियन्ताहरूले अझै पनि घलेलाई मनाउन पहल भइरहेको बताएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका