काठमाडौँ। सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको निधन भएको छ। उनी इलामस्थित पशुपतिनगर गुल्ममा कार्यरत थिए।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार बुधबार साँझ करिब ६ बजे काठमाडौँस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। बुधबार नै उनी नेपाल–भारत सीमा क्षेत्रको माने भञ्ज्याङमा गरिएको गस्ती (पेट्रोलिङ) सकेर फर्किएका थिए। कार्यालय फर्किएपछि उनी अचानक ढलेका थिए।
अवस्था गम्भीर भएपछि उनलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। सशस्त्र प्रहरी अस्पतालका चिकित्सकका अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हो।
कोइराला एक महिनाअघि मात्रै इलामको पशुपतिनगर गुल्ममा सरुवा भएका थिए।


