काठमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सशस्त्र प्रहरी बल नेपालको १३औं महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णय वैशाख १९ गतेदेखि लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन्। उनी २०७९ वैशाख १८ गते उक्त पदमा नियुक्त भएका थिए।
आईजीपी पदका लागि पौडेलसँगै एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए। दुवै १११औं टोलीका अधिकृत भए पनि बढुवा क्रममा पौडेल अगाडि रहेका थिए। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ मा बढुवा भएका थिए। डीआईजी बढुवादेखि नै पौडेल ज्येष्ठतामा अघि थिए।
सरकारले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ५३ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता, आर्थिक अनुशासन तथा व्यवस्थापकीय दक्षताको आधारमा पौडेललाई आईजीपी नियुक्त गरेको हो।
यसै बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारीक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय पनि गरेको छ। साथै, भन्सार नियमावली, २०८३ स्वीकृत गरिएको छ।
मन्त्रिपरिषद्का अन्य निर्णयहरू:
१. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने सार्वजनिक निकायको सूचीमा राखी सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।
२. भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने।
३. सशस्त्र प्रहरी बल नेपालका एआईजी नारायणदत्त पौडेललाई आईजीपीमा बढुवा नियुक्त गर्ने।


