काठमाडौँ । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले दृढ संकल्पसहित जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रिय हित, सङ्गठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राखेर इमानदारिता, निष्ठा र निष्पक्षताका साथ काम गर्ने बताए।
पौडेललाई गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। उनले महानिरीक्षक पद केवल औपचारिक नेतृत्व नभई राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति, सुशासन र नागरिकको जीउधनको रक्षा गर्ने महत्वपूर्ण दायित्व भएको उल्लेख गरे।
उनले स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन तथा सरकारले तोकेका जिम्मेवारीहरूको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकता हुने बताए। साथै, नयाँ जनभावनाअनुसार कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
महानिरीक्षक पौडेलले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सुदृढ बनाउँदै सङ्गठनको नीतिगत, संस्थागत र संरचनागत सुधारका लागि रणनीतिक कार्ययोजना तयार गरेको जानकारी दिए। उक्त योजना कार्यान्वयनमा नेपाल सरकार र गृह मन्त्रालयको सहयोग रहने विश्वास उनले व्यक्त गरे।
सकल दर्जाको कल्याण र वृत्ति विकासलाई प्राथमिकतामा राख्दै उनले मानव संसाधन विकास, आधुनिक प्रविधिको प्रयोग र नतिजामुखी कार्यशैलीमार्फत सुशासन र विकासमैत्री वातावरण निर्माण गर्ने लक्ष्य सुनाए।
‘सङ्गठन व्यक्तिले होइन, नीतिले चल्नुपर्छ,’ भन्दै उनले संस्थागत प्रणालीलाई बलियो बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए।


