Tuesday, July 28, 2026
Homeसामाचारसवारी प्रदूषण नियन्त्रणमा सरकारको कडाइ, नयाँ उत्सर्जन मापदण्ड स्वीकृत

सवारी प्रदूषण नियन्त्रणमा सरकारको कडाइ, नयाँ उत्सर्जन मापदण्ड स्वीकृत

काठमाडौं । सरकारले सडकमा सञ्चालनमा रहेका सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ उत्सर्जन मापदण्ड स्वीकृत गरेको छ।

वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै ‘प्रयोगमा रहेका सवारी साधनबाट उत्सर्जन हुने प्रदूषणको सीमा सम्बन्धी मापदण्ड, २०८३’ लागू गर्ने निर्णय गरेको हो।

नेपाल राजपत्रमा सूचना प्रकाशित भएको ९१औँ दिनदेखि यो मापदण्ड पूर्ण रूपमा लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार पुराना र नयाँ सवारी साधनका लागि छुट्टाछुट्टै प्रदूषण सीमा निर्धारण गरिएको छ।

पेट्रोल तथा ग्यासबाट चल्ने सवारी साधनमा यो मापदण्ड देशभर लागू हुनेछ। डिजेलबाट चल्ने सवारी साधनका हकमा भने काठमाडौं उपत्यकासहित देशका सबै महानगरपालिका र उपमहानगरपालिकामा अनिवार्य रूपमा लागू गरिनेछ।

मन्त्रालयका अनुसार निर्माण कार्यमा प्रयोग हुने ट्र्याक्टर, पावर टिलर, डोजर, क्रेन, रोलर, एक्स्काभेटरलगायत हेभी उपकरणहरूमा यो मापदण्ड लागू हुने छैन। साथै, रक्षा मन्त्रालयको सिफारिसमा आयात गरिएका सैनिक प्रयोजनका विशेष सवारी साधनलाई पनि यस व्यवस्थाबाट छुट दिइएको छ।

दर्ता वर्षअनुसार प्रदूषणको सीमा

सवारी साधनको दर्ता मिति र प्रविधिका आधारमा चार वर्गमा विभाजन गरी उत्सर्जनको सीमा निर्धारण गरिएको छ।

वि.सं. २०५६ भन्दा अघि दर्ता भएका सवारीका लागि:

  • दुई तथा तीन पाङ्ग्रे (पेट्रोल/ग्यास): कार्बन मोनोअक्साइड (CO) अधिकतम ४.५ प्रतिशत र हाइड्रोकार्बन (HC) ७,८०० पीपीएम
  • चार पाङ्ग्रे: CO ३.५ प्रतिशत र HC १,००० पीपीएम
  • डिजेल सवारी: धुवाँको अपारदर्शिता (Smoke Opacity) अधिकतम ६५ प्रतिशत

वि.सं. २०५६ देखि २०६९ सम्म दर्ता भएका सवारीका लागि:

  • दुई तथा तीन पाङ्ग्रे: CO ३.५ प्रतिशत, HC ४,५०० पीपीएम
  • चार पाङ्ग्रे: CO ३.० प्रतिशत, HC १,००० पीपीएम
  • डिजेल सवारी: Smoke Opacity ६५ प्रतिशत

वि.सं. २०६९ देखि २०८२ सम्म दर्ता भएका सवारीका लागि:

  • दुई पाङ्ग्रे: CO ३.० प्रतिशत
  • तीन पाङ्ग्रे: CO ३.५ प्रतिशत
  • चार पाङ्ग्रे तथा सोभन्दा माथिका सवारी: CO ०.५ प्रतिशत

वि.सं. २०८२ पछि दर्ता हुने नयाँ सवारीका लागि:

  • दुई तथा तीन पाङ्ग्रे (पेट्रोल/ग्यास): CO ०.५ प्रतिशत, HC ५०० पीपीएम
  • चार पाङ्ग्रे: CO ०.३ प्रतिशत, HC २०० पीपीएम

सरकारले नयाँ मापदण्ड लागू भएपछि सवारी साधनबाट हुने वायु प्रदूषण घट्ने, वातावरण संरक्षणमा टेवा पुग्ने तथा स्वच्छ हावा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका