काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि यससँग सम्बन्धित सबै सेवा अस्थायी रूपमा बन्द गरिएको छ।
यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै मिति २०८२ असार २० गतेदेखि प्रणालीमा देखिएको समस्या समाधान नहुञ्जेलसम्मका लागि सबै सेवा बन्द गरिएको जानकारी दिएको हो। सेवा पुनः सुरु हुनासाथ अर्को सूचना जारी गरिने विभागले जनाएको छ।
“सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरू बन्द गरिएको छ,” सूचनामा उल्लेख छ।
विभागले सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ। समस्या समाधानको प्रयास भइरहेकाले सेवा पुनः सञ्चालनको मिति थप सूचनामार्फत जानकारी गराइने जनाइएको छ।



