काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन्।
नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्मा नियुक्तिप्रति असन्तुष्टि जनाउँदै मल्ल बिदामा बसेकी हुन्।
न्यायाधीशहरूले बिदा बस्नका लागि प्रधानन्यायाधीशसमक्ष स्वीकृतिका लागि निवेदन दिनुपर्ने व्यवस्था अनुसार उनले कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा बिदा स्वीकृत गराएर बिदा लिएको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार मल्लले २० दिनको बिदा लिएकी हुन्।
यसअघि सर्वोच्चमा वरीयताको पहिलो रोलक्रममा रहेकी मल्ल, दोस्रोमा कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पछि पार्दै चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
यस निर्णयपछि मल्ल असन्तुष्ट रहेको बताइएको छ। उनी मंगलबारसम्म कायममुकायम प्रधानन्यायाधीशको रूपमा कार्यरत थिइन्।
शर्माले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सर्वोच्च अदालतमा पदभार ग्रहण गरेका थिए। तर मल्ल भने स्वागत कार्यक्रममा अनुपस्थित रहेकी थिइन्। त्यस कार्यक्रममा न्यायाधीश कुमार रेग्मीले उनलाई स्वागत गरेका थिए।


