सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार बिहान करिब १० बजे बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको बिआर ३० एपी ३०३७ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय करिब ६५ वर्षीया शान्ती देवी ठाकुरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी शान्ती देवीको टाउको, निधार र ढाडमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर, बयलबास लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि दिउँसो करिब १ बजे वीरगञ्ज पठाइएको थियो।
तर, उपचारकै क्रममा सोही दिन दिउँसो करिब ४ बजे वीरगञ्जस्थित वीरगञ्ज न्यूरो अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालक चन्द्रनगर गाउँपालिका–३ बर्कुरवा निवासी करिब २० वर्षका विशाल महतोलाई नियन्त्रणमा लिई प्रहरी चौकी मोहनपुरमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।


