सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४:५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
ट्रायल सेन्टरबाट मलंगवा–६ का २७ वर्षीय जयप्रकाश साह र मलंगवा–८ का २० वर्षीय रबी साह पक्राउ परेका छन्।
त्यसैगरी, मालपोत कार्यालय परिसरबाट हरिपुर्वा–६ का ४० वर्षीय प्रमोद कुमार यादव, मलंगवा–१ का ५८ वर्षीय नन्दकिशोर यादव, ब्रह्मपुरी–७ का ४५ वर्षीय नागेन्द्र यादव, चन्द्रनगर–१ का ४५ वर्षीय रामबिनय राय, कबिलासी–१ का ३२ वर्षीय रञ्जन कुमार ठाकुर, चक्रघट्टा–२ का ४० वर्षीय प्रमोद साह र ईश्वरपुर–५ का ४१ वर्षीय योगेन्द्र महतो पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरू सेवाग्राहीसँग अतिरिक्त रकम माग्दै काममा अवरोध सिर्जना गरिरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


