सर्लाही । लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ र १५ का विभिन्न गाउँ क्षेत्रमा लगाइएको गाँजा सोमबार फडानी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा लगाइएका करिब दुई लाख गाँजाका बोट नष्ट गरिएको छ ।
प्रहरीले मङ्सिर महिनादेखि नै जिल्लाको चुरे क्षेत्रमा अवैध गाँजाखेतीविरुद्ध फडानी अभियान सञ्चालन गर्दै आएको छ । उक्त क्षेत्रमा गाँजाखेती भइरहेको सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४० जनाको संयुक्त टोली खटिएर करिब १३ बिघा क्षेत्रफलमा फैलिएको गाँजाखेती नष्ट गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।
अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत लुकाइछिपाइ गरिएका गाँजाखेतीको खोजी तथा नष्ट गर्ने कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ९४.५ बिघा क्षेत्रफलको गाँजाखेती नष्ट गरिसकिएको छ ।


