Monday, August 17, 2026
Homeसामाचारसरकारसँगको विवाद चर्किँदा सोमबारदेखि देशभर म्यानपावर व्यवसाय ठप्प

सरकारसँगको विवाद चर्किँदा सोमबारदेखि देशभर म्यानपावर व्यवसाय ठप्प

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागप्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै सोमबारदेखि देशभरका सबै म्यानपावर कम्पनीको काम–कारबाही बन्द गर्ने घोषणा गरेको छ।

सङ्घका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत रोक्का गरिनेछ।

यसअघि सङ्घले चरणबद्ध आन्दोलनअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकेको थियो। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा समाप्त भएपछि सोमबारदेखि सम्पूर्ण काम–कारोबार बन्द गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भइसकेका श्रमिकलाई उडानमा पठाउन आइतबार राति १२ बजेसम्मको समय दिइएको थियो। सो समयभित्र प्रक्रिया पूरा भएका श्रमिकको उडान गरिए पनि त्यसपछि वैदेशिक रोजगारीका लागि हुने सबै उडान रोक्ने निर्णय गरिएको उनले बताए।

श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको सङ्घको भनाइ छ। मन्त्रालयस्तरमा छलफल भए पनि मन्त्रीस्तरमा वार्ता नभएको र सरकारले व्यवसायीका समस्या प्राथमिकतामा नराखेको सङ्घले आरोप लगाएको छ।

सङ्घका अनुसार सोमबारदेखि काठमाडौँस्थित मुख्य कार्यालय तथा देशभरका शाखा कार्यालय बन्द हुनेछन्। नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी एवं प्रशासनिक कामसमेत रोक्का गरिनेछ।

सङ्घका महासचिव हीराबहादुर डाँगीद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा उल्लेख गरिएको छ।

सङ्घले आफ्ना मागको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने जनाएको छ।

यद्यपि, सरकारले वार्ताका लागि ठोस पहल गरेमा छलफलका लागि ढोका खुला रहेको सङ्घले जनाएको छ। साथै, सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न निर्देशन दिँदै निर्णय अवज्ञा गर्ने संस्थामाथि कारबाही गरिने चेतावनीसमेत दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका