काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला, क्यान्सर, मुटु र अन्य गम्भीर रोगहरूको उपचारमा सहयोग पुर्याउने नयाँ स्वास्थ्य सहायता कार्यक्रम सार्वजनिक गरेका छन्।
ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक पोस्टमा जानकारी गराउँदै मिर्गौला पीडित नेपाली नागरिकलाई ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहायता प्रदान गरिने बताएका छन्। तर, यो सहायता पाउन स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, क्यान्सर, मुटु रोग, टाउको र मेरुदण्डमा गम्भीर चोट (हेड र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर जस्ता दीर्घरोगीहरूलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सहायता उपलब्ध गराइनेछ।
प्रधानमन्त्री ओलीले पोस्टमा उल्लेख गरेका छन्, “यसका लागि अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेछ।”
सरकारको यस निर्णयलाई आम नागरिक, विशेषगरी दीर्घरोगी र आर्थिक रूपमा कमजोर वर्गले सकारात्मक रूपमा स्वागत गरेका छन्। यो कार्यक्रमले उनीहरूको उपचारमा ठुलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।


