Saturday, November 7, 2026
Homeसामाचारसमानुपातिक बन्दसूचीमा नाम फिर्ता र नयाँ उम्मेदवार थप्न पाउने, माघ ४ मा...

समानुपातिक बन्दसूचीमा नाम फिर्ता र नयाँ उम्मेदवार थप्न पाउने, माघ ४ मा सूची सार्वजनिक

काठमाडौँ, १९ पुसः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका उम्मेदवारले तोकिएको समयभित्र आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी खाली भएको स्थानमा सम्बन्धित राजनीतिक दलले अर्को उम्मेदवार थप्न पाउने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनका सन्दर्भमा यही पुस १३ र १४ गते ६४ राजनीतिक दलबाट प्राप्त समानुपातिकतर्फका उम्मेदवार बन्दसूची हाल रुजु भइरहेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कानुनबमोजिम समावेशी समूहको अनुपात मिले–नमिलेको जाँच गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई जानकारी गराइने बताउनुभयो। त्यसपछि दलहरूले आवश्यक सच्याएर पुस २७ गतेभित्र संशोधित बन्दसूची पुनः पेस गर्नुपर्नेछ।

संशोधित सूचीमा समावेश भएका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते आवेदन दिन सक्ने समय तोकिएको छ। नाम फिर्ता सम्बन्धी आवेदन परेमा आयोगले सम्बन्धित दललाई जानकारी गराउने र दलले सो स्थानमा अर्को उम्मेदवार समावेश गर्न पाउनेछ।

आयोगले आगामी माघ ४ गते समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गर्ने जनाएको छ। सार्वजनिक सूचीमा समावेश कुनै उम्मेदवार कानुनी रूपमा अयोग्य रहेको दाबी गर्दै आम सर्वसाधारणले दाबी–विरोध गर्न सक्नेछन्। त्यस्ता दाबी–विरोधको छानबिन गरी माघ २० गतेसम्म टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका