काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धनमा कुनै परिवर्तन नहुने स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको र केवल केही समयपछि प्रधानमन्त्री मात्र परिवर्तन हुने तर गठबन्धन यथावत रहने बताए।
ओलीका अनुसार ८४ को निर्वाचनपछि पनि एमाले वा कांग्रेसले सरकार बनाउनेछन्, र बहुमत नपुगेमा दुवै दल मिलेर नै सरकार गठन गर्ने सम्भावना छ। उनले टालाटुली गरेर नयाँ सरकार बनाउने पक्षमा एमाले नरहेको स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले मुलुकको विकासलाई प्राथमिकता दिने बताए। विकास नचाहनेहरूले अनावश्यक रूपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको उल्लेख गर्दै उनले भूमि समस्या समाधान आयोगलाई सबै भूमिहिनलाई लालपूर्जा वितरण गरेर इतिहास रच्न निर्देशन दिए। साथै, बाँकी सबै जिल्लास्थित आयोगहरूलाई दुई साताभित्र पूर्णता दिन आदेश दिए।


