Sunday, November 8, 2026
Homeसामाचारसडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा

सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा

काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको सडक भाग बगाउँदा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। सडक भत्किएपछि अब यात्रुहरूलाई पैदल हिँड्नसमेत कठिनाइ भइरहेको छ।

काभ्रेपलाञ्चोकको रोशी क्षेत्र हुँदै जाने बिपी राजमार्गका विभिन्न स्थानमा बाढी र पहिरोले सडक बगाएपछि तीन दिनदेखि यात्रुहरू गन्तव्यमा पुग्न खोलाको किनार, खोला पार गर्दै र भिरपाखा चढ्दै यात्रा गर्न बाध्य भएका छन्। वर्षाको प्रभावले भकुन्डे–नेपालथोक सडकखण्डका धेरै भागमा क्षति पुगेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।

दशैं मनाएर घर फर्किएकाहरू ग्रामीण सडकसमेत अवरुद्ध भएपछि घण्टौँ पैदल हिँडेर गन्तव्यतर्फ लागिरहेका छन्। सो सडक हुँदै नमोबुद्ध नगरपालिका, रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिका तथा सिन्धुलीको सुनकोशी र घ्याङलेक गाउँपालिकाका स्थानीयहरू कठिन यात्रामा निस्किएका छन्। राजमार्गको धुलिखेलदेखि चौकीडाँडासम्म भने सवारीसाधन चलिरहेका छन्।

पैदल यात्रुहरूले चौकीडाँडा पुग्न अत्यन्त कठिन भएको बताएका छन्। भिमखोरीका राजेन्द्र श्रेष्ठले भने, “हातगोडा टेकेर चौकीडाँडा पुगेर मात्र गाडी चढ्न पायौं। कतिपय ठाउँमा सडकको नामोनिशान नै छैन, भिर चढेर जानुपरेको छ। महिला, वृद्ध र बालबालिकाका लागि त झन् अप्ठेरो छ। यदि अस्थायी गोरेटो बाटो बनाउन सकियो भने राहत मिल्नेछ।” उनका अनुसार, केही सुरक्षाकर्मीले सहयोग गरे पनि सन्तुलन नबिगारी हिँड्न नसके खोलामा खस्ने डर रहन्छ।

वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने लामो दूरीका यात्रुहरू अन्य मार्गबाट गन्तव्य पुगे पनि काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका स्थानीय यात्रुलाई चौकीडाँडासम्म पैदलै हिँड्नुपर्ने बाध्यता बनेको छ। पैदल यात्रामा समेत विभिन्न ठाउँमा रोशी खोला तर्नुपर्ने स्थिति छ। स्थानीय प्रहरीका अनुसार तीन दिनमै करिब दुई हजार यात्रु पैदल हिँड्न बाध्य भएका छन्। बिरामी यात्रुलाई सुरक्षाकर्मीहरूले स्ट्रेचरमा राखेर चौकीडाँडासम्म पुर्‍याइरहेका छन्।

जिल्ला ट्राफिक कार्यालयका अनुसार चौकीडाँडा–नेपालथोक सडकखण्डका करिब २० किलोमिटर भाग पूर्णरूपमा बन्द छन्। राजमार्गका १७ स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ। क्षतिग्रस्त भागमा अस्थायी सडक (डाइभर्सन) बनाउन मङ्गलबारदेखि काम सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

रोशी र नमोबुद्धका स्थानीय निकायहरूको समन्वयमा खोलाको प्रवाह एकतर्फी फर्काएर डाइभर्सन निर्माण भइरहेको छ। गत वर्ष असोजको बाढीपहिरोले पनि सो क्षेत्रको सडक क्षतिग्रस्त बनाएको थियो, जसपछि करिब आठ किलोमिटर अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो। यही भाग शनिबार र आइतबारको बाढीले पुनः बगाएको हो।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर बिन्दु अधिकारीका अनुसार, चौकीडाँडा क्षेत्रका साथै सिन्धुलीतर्फका तीन–चार स्थानमा अस्थायी सडक बनाउन योजना बनाइएको छ। उनले भनिन्, “रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने र पुरानो सडकको कुनै अवशेष नरहेकाले यसपटक खोलाको बहावभन्दा माथि नयाँ डाइभर्सन बनाउनुपर्ने बाध्यता छ।”

त्यस्तै, सिन्धुलीतर्फ पनि नेपालथोकबाट आजैदेखि डाइभर्सन निर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार, डिभिजन सडक कार्यालय खाल्टेले दुईवटा स्काभेटर प्रयोग गरी राजमार्गको नेपालथोक खण्डमा अस्थायी सडक निर्माण कार्य सुरु गरेको हो।

कार्यालयका अनुसार, स्थायी पुनर्निर्माणका लागि सो राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रियामा अघि बढाइएको छ। पूर्वी नेपाल जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन चल्ने गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका