मकवानपुर । राष्ट्रिय राजमार्ग विस्तारको चर्चा र लामो समयदेखिको अन्योलका कारण हेटौँडा बजार क्षेत्र दिनानुदिन असुरक्षित बन्दै गएको
छ । सडक फराकिलो बनाउने क्रममा भत्काइएका संरचना र तिनका भग्नावशेष (स्क्र्याप) व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको हो ।
भत्काइएका घरटहराका ढुंगा, इँटा, रड र ढलानका टुक्रा सडक र पेटीमा छरिएर रहेका छन् । यसले पैदलयात्रीदेखि सवारी चालकसम्मलाई दैनिक सास्ती दिएको स्थानीयवासीको गुनासो छ । सडक डिभिजन कार्यालयले गत मङ्सिर २० गते हेटौँडाको महेन्द्र राजमार्गअन्तर्गत रातोमाटेदेखि राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि चौकीटोल ओरालोसम्मका घर तथा संरचना भत्काएको थियो ।
प्रशासनले प्राविधिक रूपमा मात्र संरचना भत्काएको हुँदा घरहरू पूर्ण रूपमा ढलेका छैनन् । जेसीबी प्रयोग गरेर टप, सटर, झ्याल, ढोका र भित्ताहरू क्षतिग्रस्त बनाइएपछि करिब ७ किलोमिटर क्षेत्रका ५०० भन्दा बढी घर तथा संरचना धराप बनेका छन् । त्यसपछि मङ्सिर २१ गतेदेखि काम रोकिएको छ ।
सर्वोच्च अदालतको स्टे अर्डरका कारण सडक विस्तारको काम अघि बढ्न नसक्दा अवस्था झन् अन्योलपूर्ण बनेको छ । एकातर्फ मुद्दाको पेसी पटक–पटक सर्दै गएको छ भने अर्कोतर्फ असुरक्षित संरचना र सडक पेटीको व्यवस्थापनमा कसैको ठोस चासो देखिएको छैन ।
भत्काइएका संरचनाको व्यवस्थापन न घरधनीले गरेका छन्, न त सम्बन्धित निकायले नै । अझ जोखिमपूर्ण रूपमा ती धराप बनेका घरका कोठामा व्यवसाय सञ्चालन भइरहेको छ । कतिपय स्थानमा सडक पेटी नै अतिक्रमण गरेर सामान राखिएको छ, जसका कारण पैदलयात्रीहरू मुख्य सडकबाट हिँड्न बाध्य छन् ।
यसको प्रत्यक्ष असर ट्राफिक व्यवस्थापनमा परेको छ । बुद्धचोक, सीमा चोक र मेनरोड क्षेत्रमा सवारी जाम सामान्यजस्तै बनेको छ ।
घर भत्काउने क्रममा मजदुर घाइते
सडक विस्तारका क्रममा घर भत्काउँदा दुर्घटना बढ्दै गएका छन् । पछिल्लो चार दिनमा भएका तीनवटा अलग–अलग घटनामा पाँच जना मजदुर घाइते भएका छन् ।
आइतबार मङ्सिर २८ गते हेटौँडा–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको घर भत्काउने क्रममा तीन जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय सन्तोष भ्लोन, २६ वर्षीय दिनेश चौधरी र ३० वर्षीय अरुण चौधरी रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि मङ्सिर २६ गते र मङ्सिर २४ गते पनि सोही क्षेत्रमा घर भत्काउने क्रममा मजदुर घाइते भएका थिए ।
प्रशासन र उपमहानगरको भनाइ
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भत्किएका संरचना र सडक पेटीमा थुप्रिएका सामग्री व्यवस्थापनका लागि सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको बताए । सडक विस्तारको मुख्य जिम्मेवारी सडक डिभिजन कार्यालयको भए पनि प्रशासनले सुरक्षा र सहजीकरणको भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपानेले पटक–पटक सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेको बताए । जोखिमपूर्ण अवस्थामा व्यापार भइरहेको भए पनि मानवीय पक्षलाई ध्यानमा राख्दै तत्काल कडा कारबाही गर्न नसकिएको उनले स्पष्ट पारे ।
उनका अनुसार सडक पेटी कब्जा, अव्यवस्थित तार र भत्किएका संरचनाका कारण पैदलयात्रीहरू झनै जोखिममा परेका छन् । उपमहानगरपालिका, प्रहरी प्रशासन र सम्बन्धित निकायबीच समन्वय गरेर जोखिम न्यूनीकरण गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
अदालतको निर्णय नआउँदासम्म ‘पर्ख र हेर’को अवस्थामा रहेको सडक विस्तारले हेटौँडा बजारलाई थप असुरक्षित बनाइरहेको स्थानीयको गुनासो छ ।


