पश्चिमी दर्शनमा आधारित सञ्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ आज सार्वजनिक भएको छ । पुस्तक कालिकास्थानमा रहेको पब्लिकेसन्स नेपालयको कार्यालयमा आयोजित खुल्ला र सानो भेलाबीच सार्वजनिक भएको हो । यो पुस्तक दसवटा प्रमुख दार्शनिक प्रवृत्तिहरूमा केन्द्रित रहेको छ; जुन प्रवृत्तिहरू पश्चिमी दर्शनका आधार मानिन्छन् । लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोर्कापित गरेका हुन् ।
‘मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतिकात्मक अर्थ छ,’ लेखक पोखरेलले भने, ‘मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन्, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन गरुन् भन्ने मेरो लेखकीय आकाङ्क्षा र सदिच्छा हो ।’
उनी अगाडि भन्छन्, “यस पुस्तकमा मैले पाश्चात्य ज्ञान परम्पराका केही आधारभूत प्रश्नहरूलाई सहज नेपाली भाषामा बुझाउने प्रयास गरेको छु । यसको अर्थ पाठकहरूले ज्ञानका प्रश्नहरूलाई बुझुन् र आत्मसात् गरुन् भन्ने हो ।’
नेपाली समाजमा पाश्चात्य दर्शनको प्रभावबारे प्रकाश पार्दै लेखक थप प्रस्ट्याउँछन्, ‘हाम्रो समाजमा विद्यमान कतिपय राजनैतिक संरचना र तिनका आधारस्तम्भ पश्चिमी समाजबाट आएका छन् । राज्य संरचना, राज्य र नागरिकबीचका अन्तरसम्बन्ध र तिनका राजनैतिक साथै आर्थिक कर्महरू पाश्चात्य सिद्धान्तमा आधारित छन् । त्यसैले मलाई लाग्छ हामीले आफैलाई बुझ्न पनि पश्चिमलाई बुझ्नु अपरिहार्य हुन्छ ।’
यो पुस्तक पब्लिकेसन्स नेपालयको सन् २०२१ को अन्तिम प्रकाशन हो ।‘एक अनि शून्य’को मूल्य नेपाली बजारका लागि ४९५ रुपियाँ रहेको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ईबुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।


