Tuesday, July 14, 2026
Homeसामाचारसक्रिय मनसुनको प्रभाव : चितवनमा २६९ मिमी वर्षा, सडक अवरुद्ध र जनजीवन...

सक्रिय मनसुनको प्रभाव : चितवनमा २६९ मिमी वर्षा, सडक अवरुद्ध र जनजीवन प्रभावित

काठमाडौं । आइतबारदेखि सक्रिय बनेको मनसुनका कारण देशका विभिन्न जिल्लामा भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। विशेषगरी चितवनमा पछिल्लो २४ घण्टामा २६९ मिलिमिटर वर्षा मापन भएको छ, जुन हालसम्मकै सबैभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी, बागमती र कोशी प्रदेश भारी वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएका छन्। यता सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा भने तुलनात्मक रूपमा कम वर्षा भएको छ। काठमाडौं उपत्यकामा पनि सोमबार दिनभर लगातार वर्षा भएको थियो।

भारी वर्षासँगै कास्कीमा खोलाले सडक तथा केही घरमा क्षति पुर्‍याएको छ भने चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो र लेदो खसेपछि अवरुद्ध भएको छ। जोखिम बढेपछि स्थानीय प्रशासनले उक्त सडकमा सवारी आवागमन रोकिएको जनाएको छ।

त्यसैगरी मकवानपुर हुँदै काठमाडौं आउने सडक समेत प्रभावित भएकाले अनावश्यक यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। नागढुंगा नाका हुँदै काठमाडौंबाट बाहिरिने सवारीसाधनको आवागमन पनि अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको काठमाडौं प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्ले का अनुसार निरन्तर वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेकाले सावधानीस्वरूप यातायात सञ्चालनमा रोक लगाइएको हो।

उता कालीकोटमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थ का अनुसार सोमबार रातिसम्म पनि चितवनमा वर्षा जारी रहेको छ र राति थप वर्षा हुने सम्भावना रहेको छ। चितवनका अन्य वर्षा मापन केन्द्रहरूमा पनि अत्यधिक वर्षा रेकर्ड भएको विभागले जनाएको छ।

निरन्तर वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढेकाले प्रभावित क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र आवश्यक सूचना पालना गर्न सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका