काठमाडौं । आइतबारदेखि सक्रिय बनेको मनसुनका कारण देशका विभिन्न जिल्लामा भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। विशेषगरी चितवनमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी २६९ मिलिमिटर वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, बागमती र कोशी प्रदेश भारी वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएका छन्। यता सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा भएको छ। काठमाडौं उपत्यकामा पनि सोमबार दिनभर लगातार वर्षा भएको थियो।
भारी वर्षाका कारण कास्कीमा खोलाले सडक र केही घरमा क्षति पुर्याएको छ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो र लेदो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। जोखिम बढेपछि स्थानीय प्रशासनले उक्त सडकमा सवारी आवागमन रोकिएको जनाएको छ।
त्यसैगरी मकवानपुर हुँदै काठमाडौं आउने सडक समेत प्रभावित भएकाले अनावश्यक यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। नागढुंगा नाका हुँदै काठमाडौंबाट बाहिरिने सवारीसाधनको आवागमन पनि अस्थायी रूपमा रोकिएको काठमाडौं प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्ले का अनुसार निरन्तर वर्षासँगै पहिरो र बाढीको जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो।
उता कालीकोटमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ।
यसबीच, जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थ ले सोमबार राति पनि चितवनसहित केही क्षेत्रमा वर्षा जारी रहने जानकारी दिएका छन्। विभागका अनुसार चितवनका अन्य वर्षा मापन केन्द्रहरूमा पनि अत्यधिक वर्षा रेकर्ड भएको छ। मनसुन सुरु भएयता केही स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको छ।
निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


