काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार जनताको सर्वोच्च प्रतिनिधि संस्था संसद् छलेर अध्यादेशको बाटोबाट मुलुक चलाउने दिशातर्फ उन्मुख भएको आरोप लागेको छ ।
सरकारले आफैँले सिफारिस गरेर राष्ट्रपतिबाट आह्वान भइसकेको संसद् अधिवेशन समेत स्थगित गर्दै अध्यादेश ल्याउने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश अध्ययन गरिरहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलका अनुसार, “सरकारले पठाएका अध्यादेशमा राष्ट्रपतिले अध्ययन गरिरहनुभएको छ।”
यसअघि सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि आह्वान गरेको संसद् अधिवेशन सरकारले विशेष कारण देखाउँदै रोक्न पुनः पत्र पठाएको थियो । सोही अनुसार वैशाख ९ गते बोलाइएको संसद् अधिवेशन वैशाख १० गते स्थगित गरिएको थियो ।
त्यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को दुवै अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
संसद् चलिरहेको अवस्थामा अध्यादेश ल्याउन नमिल्ने भएपछि सरकारले संसद् छलेर अध्यादेशको बाटो रोजेको भन्दै आलोचना भएको छ । प्रतिपक्ष दलहरूले यसलाई अलोकतान्त्रिक कदम भनेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले अध्यादेशमार्फत कानुन ल्याउनु जनमतको अपमान भएको टिप्पणी गरेका छन् । त्यस्तै, एमाले प्रमुख सचेतक ऐन महरले पनि संसद्प्रति सरकारको व्यवहार अस्वीकार्य भएको बताएका छन् ।
त्यसैगरी, नेकपा प्रमुख सचेतक युवराज दुलालले संसद्को अधिवेशन आह्वान गरेर फेरि स्थगित गरी अध्यादेशतर्फ जानु गलत अभ्यास भएको बताएका छन् ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भने संसद् अधिवेशन स्थगित सामान्य प्रक्रिया भएको बताउँदै अध्यादेश ल्याउने विषयमा सरकारको तत्काल कुनै योजना नभएको दाबी गरेका थिए । तर केही दिनमै सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो ।
संविधानको धारा ११४ अनुसार संघीय संसद् अधिवेशन नरहेको अवस्थामा तत्काल आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ । जारी भएको अध्यादेश संसद्ले अस्वीकार गरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था रहेको छ।


