Saturday, May 9, 2026
Homeराजनीतिसंसदीय निर्वाचनमा रास्वपाले बनायो तीन ऐतिहासिक रेकर्ड

संसदीय निर्वाचनमा रास्वपाले बनायो तीन ऐतिहासिक रेकर्ड

काठमाडौँ । हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक रेकर्ड बनाएको छ। प्रत्यक्षतर्फ निर्वाचित सिट सङ्ख्या र प्रतिशतको आधारमा रास्वपाले नयाँ इतिहास कायम गरेको हो।

निर्वाचन आयोगको हालसम्मको आधिकारिक मतपरिणामअनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२४ सिटमा जित हासिल गरिसकेको छ भने एउटा सिटमा अग्रता कायम गरेको छ। एउटै पार्टीबाट प्रत्यक्षतर्फ यति धेरै सङ्ख्यामा उम्मेदवार निर्वाचित भएको इतिहासमा पहिलोपटक हो।

यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीले १२० सिटमा जित हासिल गरेको थियो। तर, त्यतिबेला नेपालमा २४० वटा निर्वाचन क्षेत्र रहेका थिए। अहिले १६५ निर्वाचन क्षेत्रमै रास्वपाले त्योभन्दा बढी सिट जित्दै नयाँ रेकर्ड बनाएको हो।

प्रत्यक्षतर्फ निर्वाचित सिटको प्रतिशतमा पनि रास्वपाले नयाँ कीर्तिमान कायम गरेको छ। १६५ मध्ये १२१ सिटमा जित हासिल गर्नु भनेको करिब ७३.३३ प्रतिशत सिट जित्नु हो, जुन अहिलेसम्मकै उच्च प्रतिशत मानिन्छ।

यसअघि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ सिटमध्ये ७४ सिट जितेको थियो, जुन ६७.८९ प्रतिशत हो। त्यसपछिका कुनै पनि चुनावमा त्योभन्दा राम्रो परिणाम प्राप्त भएको थिएन।

२०४८ सालको निर्वाचनमा २०५ सिटमध्ये कांग्रेसले ११० सिट जितेको थियो, जुन ५३.६५ प्रतिशत हो।

२०५१ सालको मध्यावधि निर्वाचनमा एमालेले २०५ सिटमध्ये ८८ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको थियो, जुन ४२.९३ प्रतिशत हो।

२०५६ सालको निर्वाचनमा कांग्रेसले २०५ मध्ये १११ सिटमा जित निकाल्दै ५४.१५ प्रतिशत सिट हासिल गरेको थियो।

२०६४ सालको निर्वाचनमा माओवादीले २४० मध्ये १२० सिट जितेको थियो, जुन ५० प्रतिशत हो। सो समयमा माओवादीसँग समानुपातिकतर्फ समेत गरी २२० सांसद थिए, जुन सङ्ख्याको आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिनिधित्व मानिन्छ।

२०७० सालको निर्वाचनमा कांग्रेसले २४० मध्ये १०५ सिट जितेको थियो, जुन ४३.७५ प्रतिशत हो।

२०७४ सालमा एमालेले १६५ सिटमध्ये ८० सिट जितेको थियो भने माओवादीले ३६ सिटमा विजय हासिल गरेको थियो।

२०७९ सालको निर्वाचनमा कांग्रेसले १६५ मध्ये ५७ सिट जित्दै ३४.५५ प्रतिशत सिट हासिल गरेको थियो।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि रास्वपाले नयाँ कीर्तिमान बनाएको छ। हालसम्म गणना भएको मतअनुसार रास्वपाले ४० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ।

यसअघि २०७४ सालमा एमालेले ३१ लाख ७३ हजार मत ल्याएको थियो। २०६४ सालमा माओवादीले ३१ लाख ४४ हजार, २०७० सालमा कांग्रेसले २४ लाख १८ हजार र २०७९ सालमा एमालेले २७ लाख ९१ हजार मत प्राप्त गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका