जाजरकोटको ऐतिहासिक सेतो दरबार पुनः संकटमा परेको छ। विसं १९९० र २०४५ सालका विनाशकारी भूकम्पले पटक–पटक क्षति पुर्याएको दरबार २०७२ सालको भूकम्पपछि झन् जीर्ण अवस्थामा पुगेको हो।
नेपाल सरकारले सूचीकृत गरेका एक सय पर्यटकीय गन्तव्यभित्र पर्ने यो ऐतिहासिक सम्पदा संरक्षणको अभावमा नष्ट हुने जोखिममा छ। तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको शासनकालमा खलङ्गा क्षेत्रको अग्लो स्थानमा निर्माण गरिएको सेतो दरबार जाजरकोट मात्र होइन, सिङ्गो कर्णाली प्रदेशकै ऐतिहासिक पहिचानका रूपमा चिनिन्छ।
यसअघि सोही क्षेत्रमा राजा हरि शाहले विसं १८२५ मा निर्माण गराएको रातो दरबार हाल जिल्ला समन्वय समितिको कार्यालयका रूपमा प्रयोग हुँदै आएको छ।
स्थानीय इतिहासविद् तथा बासिन्दाहरूले सेतो दरबारको मौलिक स्वरूप जोगाउँदै भूकम्पप्रतिरोधी प्रविधिबाट पुनःनिर्माण गर्नु अपरिहार्य भएको बताएका छन्। उनीहरूका अनुसार सरकारी कार्यालय अन्यत्र स्थानान्तरण गरी दरबारलाई संग्रहालय वा पर्यटकीय संरचनाका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ।
हालैको भूकम्पले दरबार वरपर रहेका उस्तै शैलीका ऐतिहासिक घरहरू पनि पूर्ण रूपमा ध्वस्त बनाएको छ। ती घरहरू तत्कालीन जाजरकोटी राजाका भाइ–छोराको आवासका लागि निर्माण गरिएका थिए।
मौलिक संरचनाहरू क्रमशः नष्ट हुन थालेपछि जाजरकोटको ऐतिहासिक पहिचान नै संकटमा पर्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्। पर्यटकीय गन्तव्यका रूपमा उदीयमान जाजरकोट दरबार क्षेत्र संरक्षणको अभावमा जीर्ण बन्दै गएको भन्दै समयमै पहल नहुँदा महत्वपूर्ण ऐतिहासिक धरोहर सदाका लागि गुम्ने जोखिम बढेको उनीहरूको भनाइ छ।
अब पनि सम्बन्धित निकायले चासो नदिए जाजरकोटको गौरव बोकेको सेतो दरबार केवल स्मृतिमा सीमित हुने स्थानीयको चेतावनी छ। त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारको तत्काल ध्यानाकर्षण गर्दै संरक्षण र पुनःनिर्माणमा ठोस पहल आवश्यक देखिएको छ।


