विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय सरकारको भूमिका अझ महत्वपूर्ण र जिम्मेवार बनेको बताएका छन्।
सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित ‘लौकही सिटी हल’ उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताको आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले स्थानीय तह जनतासँग सबैभन्दा नजिकको सरकार भएकाले प्रभावकारी सेवा प्रवाह, सुशासन र विकास निर्माणमा सक्रिय हुनुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यताअनुसार काम गर्दै जनविश्वास कायम राख्न स्थानीय तहहरू प्रतिबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो।
ग्रामीण क्षेत्रमा आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै उनले यसले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यको उदाहरण प्रस्तुत गरेको बताए।
उनले सप्तकोसी नदी आसपासका क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावनाको चर्चा गर्दै बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बाजस्ता धार्मिक स्थललाई पर्यटनसँग जोडेर विकास गर्न आग्रह गरे।
वि.सं. २०६५ सालमा कोसी बाँध फुट्दा विस्थापित भएको बस्ती पुनः स्थापित भई विकासका गतिविधि अघि बढेको देख्दा खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले बाढी तथा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा विशेष ध्यान दिन तीनै तहका सरकारलाई आग्रह गरे।
उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी टप्पु वन्यजन्तु आरक्षको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन्।
मुख्यमन्त्री कार्कीले प्रचुर पर्यटकीय सम्भावना हुँदाहुँदै संघीय सरकारको मातहतमा रहँदा कोसी टप्पुको अपेक्षित विकास हुन नसकेको गुनासो गरे। आरक्षको जिम्मेवारी प्रदेश सरकारलाई दिइए आवश्यक भौतिक संरचना निर्माण, जैविक विविधताको संरक्षण तथा पर्यटन प्रवर्द्धनमार्फत यसलाई मुलुककै नमुना पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।


