Sunday, April 19, 2026
Homeकोरोना बिशेषसंक्रमण बढ्दै, फेरि बेड अभाव

संक्रमण बढ्दै, फेरि बेड अभाव

विराटनगर, ताप्लेजुङ, धनकुटा, भोजपुर : कोरोना संक्रमितको संख्या घट्न थालेसँगै सरकारदेखि अस्पताल सबै सुस्ताएका थिए। दोस्रो भेरियन्टले अवस्था जर्जर बनाइरहँदा असारसम्ममा संक्रमण दर घटेको थियो। तर, साउनयता संक्रमण बढेसँगै सरकारी संयन्त्र सक्रिय हुन नसक्दा अवस्था नियन्त्रणबाहिर जाने खतरा उत्पन्न भएको छ। प्रदेश १ को पहाडी जिल्लामा रहेका अस्पतालहरूमै बेडको अभाव भएर पुरानै अवस्था बल्झिन थालेको छ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाका खड्ग गुरुङले सोमबार राति जिल्ला अस्पतालमा बेड पाएनन्। बान्ता र झाडापखालाको समस्या देखिएका छिमेकीलाई लिएर गएका उनले अस्पताल बाहिरको फलैंचामै राखेर रगत, दिसा र पिसाबको परीक्षण गराए। उनले भने, ‘न पुराना बिरामीलाई संक्रमणबाट बचाउने संयन्त्र छ। न त नयाँ बिरामीको उपचार गर्ने ठाउँ नै।’ सोही दिन फुङलिङकै कमल भट्टराईले पनि कोरोना संक्रमित छोरालाई राख्ने बेड पाएनन्। स्वास्थ्यकर्मीले भुइँमा एउटा ओछ्याउने हाले र त्यहीं राखेर अक्सिजन दिए।

बिरामीको चाप थेगिनसक्नु भएपछि अस्पतालका प्रमुख डा. सोनिङ लामाले बुधबार सर्वपक्षीय बैठक बोलाए। अस्पताल व्यवस्थापन समिति र सरोकारवाला सम्मिलित बैठकले कुनै निष्कर्ष भने निकाल्न सकेन। साउनयता अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीको चाप बढेको छ। सरकारले कोभिड पनि अस्पताल बनाएको छ। तर ठाउँ अभावमा कोरोना संक्रमित र अरू बिरामीलाई एकै ठाउँमा राखेर उपचार गराउनुपर्ने बाध्यता छ।

डा. लामाका अनुसार १० बेडको कोभिड उपचार केन्द्र भरिएको छ। १५ बेडको अस्पतालमा ३५ बढी बिरामी भर्ना भएर उपचाररत छन्। ओपीडीमा दैनिक सय बढी परीक्षण गराउन पुग्ने गरेका छन्। तर, डाक्टर भने तीन जना मात्रै छन्।

अस्पतालको पश्चिमपट्टि प्लाइ र जस्ताले बारेर कोभिड उपचार केन्द्र बनाइएको छ। त्यो टहरो घाम लागे छानो तातेर बसिनक्नु हुन्छ भने पानी परे जस्ता बजेर बिरामी निदाउन सक्दैनन्। अस्पताल परिसरमै पक्की भवन खाली भए पनि व्यवस्थापन समितिले त्यसलाई प्रयोग गर्न सकेको छैन। फुङलिङ नगरपालिकाले हेलिप्याडमा क्वारेन्टाइन बनाएको भए पनि अस्पतालबाट दुई किलोमिटरभन्दा टाढा भएकाले बिरामीको ल्याब परीक्षणलगायतमा समस्या हुने स्वास्थ्यकर्मीको भनाइ छ।

जिल्लामा ४ सय ५० बढी कोरोनाका सक्रिय संक्रमित छन्। संक्रमण दर दिनहुँ बढिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यता धनकुटामा पनि कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। साउनयता संक्रमितको संख्या बढेपछि अस्पतालमा बेड अभाव सुरु भएको छ। जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माका अनुसार २५ जना उपचार गराउने क्षमताको अस्पतालमा अहिले ३५ जना संक्रमित उपचाररत छन्। बिरामी राख्ने ठाउँ नहुँदा रिफर गर्नुपर्ने स्थिति आइसकेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय धनकुटाकाअनुसार जिल्लामा हालसम्म २ हजार ३ सय ५६ कोरोना संक्रमित भइसकेका छन्। ३८ जनाले ज्यान गुमाइसकेका छन्। प्रशासनका प्रशासकीय अधिकृत विक्रम लिम्बूका अनुसार संक्रमितमध्ये १३ जना अस्पतालमा उपचाररत छन्। कोरोना संक्रमितको लागि उपचार गर्न ६९ वटा आइसोलेसन बेड छन्।

त्यस्तै, भोजपुरको अवस्था पनि ताप्लेजुङ र धनकुटाको भन्दा फरक छैन। बजारमा चहलपहल बढेसँगै घरघरै बिरामी बढेका छन्। प्रशासनले न्यूनतम स्वास्थ्य मापदण्डको निर्देशन दिए पनि पालना नगर्दा जोखिम बढेको छ।

स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार दैनिक २५ जनाको हाराहारीमा संक्रमित थपिएका छन्।  संक्रमण बढ्न थालेपछि प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले कोरोना महामारीको सम्भावित तेस्रो लहर नियन्त्रणको पूर्व तयारीमा जुट्न सरोकारवाला निकायलाई निर्देशन दिएकी छन्।

प्रदेशमा बढे संक्रमित
प्रदेश १ मा साउनयता संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो १६ दिनमा १५ हजार १ सय ७९ संक्रमित थपिएका छन्। यो संख्या असार महिनाका दुई अर्धमासिक अवधिको भन्दा बढी हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका