कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटे बाघको बासस्थानका रूपमा प्रसिद्ध बन्दै गएको छ। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा हाल ४४ वटा पाटे बाघ छन्। सानो क्षेत्रफल भए पनि पर्याप्त आहारा र बासस्थानको व्यवस्थापनले बाघको संख्या उल्लेख्य रूपमा बढेको हो।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार सन् २०१३ मा १७ वटा मात्र बाघ रहेका शुक्लाफाँटामा पछिल्लो गणनामा २४ भाले, १७ पोथी र विश्लेषणका आधारमा थप तीन गरी बाघको संख्या ४४ पुगेको छ। बाघको प्रमुख आहाराका रूपमा बाह्रसिंगा, रतुवा, चित्तल र बँदेल रहेका छन्।
निकुञ्जभित्र करिब १०० भन्दा बढी प्राकृतिक तथा कृत्रिम तालहरू छन्, जसले वन्यजन्तुलाई आहारा र पानीको स्रोत सहज बनाएको छ। चौधर, स्याली र महाकाली नदीले यहाँको जैविक प्रणालीलाई सन्तुलनमा राखेका छन्। चौधर नदी वन्यजन्तुको प्यास मेटाउने मुख्य स्रोत हो।
शुक्लाफाँटा विश्वकै दुर्लभ वन्यजन्तु ‘बाह्रसिंगा’ को ठूलो झुण्ड हेर्न पाइने थलो पनि हो। हाल निकुञ्जमा २,३२३ भन्दा बढी बाह्रसिंगा रहेका छन्। यो क्षेत्र विश्वकै ठूलो घाँसे मैदानमध्ये एक मानिन्छ।
तर, यति जैविक सम्पदा हुँदाहुँदै पनि पर्यटकीय विकास भने सुस्त छ। वाग्लेका अनुसार शुक्लाफाँटा गन्तव्यको प्रचारप्रसारको कमी, पर्याप्त पूर्वाधारको अभाव, हवाई भाडाको महँगोपन र निजी क्षेत्रको लगानी नहुँदा पर्यटकको आगमन न्यून रहेको छ।
“पर्यटक आकर्षणका दृष्टिले शुक्लाफाँटा उत्तिकै महत्वपूर्ण भए पनि सुविधाको अभावले उनीहरू अन्यत्र मोडिन्छन्,” वाग्लेले भने। विदेशी पर्यटकको लागि हवाई भाडा महँगो हुनु, समान भाडादरको अभाव, र नाकामा रहेको असहजताले भारतीय पर्यटकसमेत कम आएको बताइएको छ।
सूचना अधिकारी वाग्लेले शुक्लाफाँटा पर्यटनको अपार सम्भावना बोकेको गन्तव्य भएको उल्लेख गर्दै यसको प्रचार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी अत्यावश्यक रहेको धारणा व्यक्त गरे।


