Saturday, November 7, 2026
Homeसामाचारशुक्लाफाँटाका किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

शुक्लाफाँटाका किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरिने भएको छ। व्यावसायिक आलु खेतीलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्षको विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत ध्रुवतारा सामुदायिक कृषि सहकारी संस्थाको सहकार्यमा यो कार्यक्रम सुरु गर्न लागिएको हो।

सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार बर्दियाबाट प्रतिकिलो रु ८० मा खरिद गरिएको कार्डिनल जातको आलुको बीउ किसानलाई रु ४० का दरले उपलब्ध गराइने छ। उनले भने, “पचास क्विन्टल आलुको बीउ ल्याएका छौँ, अब छिट्टै सहकारीमा आबद्ध किसानलाई वितरण गरिनेछ।”

उनका अनुसार सहकारीका सदस्यहरूले पाँच कट्ठादेखि दश कट्ठासम्म जमिनमा आलु खेती गर्ने व्यवस्था गरिएको छ। पाँच बिघा क्षेत्रफलमा आलु खेती विस्तार गर्ने तयारीसहित करिब १२० किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। “यस वर्षको खेतीबाट बीउ उत्पादन गरी आगामी वर्ष दोब्बर क्षेत्रफलमा खेती विस्तार गर्ने हाम्रो लक्ष्य हो,” अध्यक्ष ऐरले बताए।

सहकारीले यसअघि पनि सदस्य किसानलाई चैते धान र उन्नत तोरी खेतीमा सहकार्य गर्दै आएको छ। साथै, सहकारीमार्फत किसानलाई सुपथ मूल्यमा रासायनिक मलखाद र बीउविजन उपलब्ध गराइँदै आएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरुले आलु खेतीमा संलग्न किसानलाई बीउ वितरणसँगै कृषि सिँचाइ, उद्यमशीलता विकास, साना उद्योग स्थापना र कृषि पूर्वाधार निर्माणमा समेत अनुदान उपलब्ध गराइने जानकारी दिए।

शुक्लाफाँटाका लागि स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत रु ४० लाख बजेट विनियोजन गरिएको छ। यही कार्यक्रमअन्तर्गत पुनर्वास नगरपालिकामा आलु र प्याज, बेदकोट, दोधारा चाँदनी नगरपालिका र बेलडाँडी गाउँपालिकामा पनि आलु खेतीका लागि रु ४० लाखका दरले अनुदान उपलब्ध गराइनेछ।

कृषि ज्ञान केन्द्रले सञ्चालन गर्ने यी अनुदानका कार्यक्रमहरूले किसानलाई आधुनिक प्रविधियुक्त र व्यावसायिक खेतीतर्फ उन्मुख गराउने, आत्मनिर्भरता बढाउने र प्रदेशस्तरमा कृषिजन्य उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका