काठमाडौं । भारतको हिमाचल प्रदेशको राजधानी शिमलाको सञ्जौली नजिकै पर्ने चलौंथी क्षेत्रमा सुरुङ निर्माणका क्रममा गरिएको भारी ब्लास्टिङका कारण कम्तीमा १५ घरमा चिरा परेको स्थानीयवासीले आरोप लगाएका छन्।
भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई)द्वारा भट्टकुफर–सञ्जौली खण्डमा निर्माण भइरहेको सुरुङका लागि गरिएको विस्फोटनपछि अवस्था गम्भीर बनेको हो। घटनापछि प्रशासनले प्रभावित भवनहरू तत्काल खाली गराउँदै सबै निर्माण कार्य रोक्न निर्देशन दिएको छ।
शिमलाका उपायुक्त अनुपम कश्यपले शुक्रबार राति अबेर जानकारी प्राप्त भएपछि प्रभावित घरहरू खाली गराइएको जानकारी दिँदै भने, “सुरक्षालाई ध्यानमा राख्दै सबै निर्माण कार्य तत्काल रोकिएको छ।” उनका अनुसार घटनाबारे विस्तृत अध्ययन गर्न एसडीएम शिमला ग्रामीण मंजीत शर्माको अध्यक्षतामा समिति गठन गरिएको छ, जसले एक हप्ताभित्र क्षतिको मूल्याङ्कन प्रतिवेदन पेश गर्नेछ।
स्थानीय बासिन्दाहरूका अनुसार अनियन्त्रित ब्लास्टिङले कमजोर फिलाइट चट्टानमा खाडल सिर्जना गरेको छ, जसका कारण भवन र सडकमा चिरा देखिन थालेका हुन्। पछिल्ला तीन दिनदेखि सानातिना चिरा देखिँदै आएकोमा शुक्रबार राति अवस्था झनै बिग्रिएको स्थानीयले बताएका छन्।
कडा चिसो (करिब १ डिग्री सेल्सियस तापक्रम) का बीच प्रभावित १५ घरका परिवारहरूलाई रातारात घर खाली गर्न बाध्य पारिएको थियो। केही परिवार सडकमा रात बिताउन बाध्य भए भने केहीले आफन्तकहाँ वा होटलमा आश्रय लिएका छन्। स्थानीय बासिन्दा प्रिया ले बीबीसी न्यूज हिन्दीलाई भनिन्, “हामी १५ वर्षदेखि यहाँ भाडामा बस्दै आएका छौँ। पहिले एनएचएआईमा गुनासो गरेका थियौँ, तर समस्या छैन भनियो। अहिले भवन भत्किने डर छ।”
नगरपालिका पार्षद ममता चन्देलले पनि सुरुङ निर्माणकै कारण घर र सडकमा नयाँ चिरा परेको दाबी गर्दै भनिन्, “राति गरिएको ब्लास्टिङ नै मुख्य कारण हो। तीनवटा भवन गम्भीर रूपमा प्रभावित भएका छन्। प्रशासनले सहयोग गर्ने प्रयास गरिरहेको छ।”
राज्य पञ्चायत राज तथा ग्रामीण विकास मन्त्री अनिरुद्ध सिंहले विस्फोटका कारण क्षति भएको स्वीकार गर्दै ब्लास्टिङ तुरुन्त रोक्न कडा निर्देशन दिइएको बताए।
उपायुक्त कश्यपका अनुसार प्रतिवेदनका आधारमा प्रभावित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराइनेछ। साथै, राज्यका भूगर्भविद्हरूले क्षतिको कारणबारे अनुसन्धान गरिरहेका छन्। हाल चार लेन सडक र सुरुङ निर्माण कार्य पूर्ण रूपमा रोकिएको छ।
एनएचएआईका परियोजना प्रबन्धक सदानन्द मोहन्तीले पनि घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।


