Sunday, April 19, 2026
Homeकला/साहित्यविश्व संगीत दिवसको अवसरमा असार ७ गते बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम,...

विश्व संगीत दिवसको अवसरमा असार ७ गते बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम, ५० भन्दा बढी कलाकारको प्रस्तुति

काठमाडौं, असार २: विश्व संगीत दिवसको अवसर पारेर राष्ट्रिय थारू कलाकार मञ्चले आगामी असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी थारू कलाकारहरूले थारू समुदायका मौलिक लोकगीत र नृत्यहरू—जसमा धुम्रा, झुम्रा, मघौटा लगायत—प्रस्तुत गर्नेछन्।

मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यका अनुसार, उक्त दिन सांस्कृतिक कार्यक्रमसँगै मञ्चको वार्षिक साधारणसभा समेत आयोजना हुनेछ। कार्यक्रममा “भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान” भन्ने मूल नाराको घोषणा गरिएको छ।

कार्यक्रम दुई दिनसम्म चल्नेछ। पहिलो दिन सांस्कृतिक प्रस्तुति हुनेछ भने दोस्रो दिन विधान संशोधनसहितको साधारणसभा सञ्चालन गरिनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुण कुमार चौधरी कार्यक्रमका प्रमुख अतिथि रहनेछन्।

थारू परिकार, परम्परागत पहिरन, गहना तथा सांस्कृतिक सामग्रीहरूको प्रदर्शनी र विक्रीका लागि स्टलहरू पनि राखिनेछ।

अध्यक्ष वैद्यका अनुसार, “यो कार्यक्रम केवल मनोरञ्जनको साधन होइन, थारू भाषा, धर्म, कला, संस्कृति र पहिचानको संरक्षण तथा सशक्तिकरणतर्फको सशक्त पहल हो।” साथै, सबै थारू संघसंस्था, संस्कृति प्रेमीहरू र सरोकारवालालाई सक्रिय सहभागी हुन उनले आग्रह गरेका छन्।

कार्यक्रममा सहभागिताका लागि १,००० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। टिकटको प्रि–बुकिङ खुला गरिएको छ र कार्यक्रम स्थलमै पनि टिकट उपलब्ध हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका