Sunday, November 8, 2026
Homeसामाचारविश्व जनसङ्ख्या दिवस २०८१: युवालाई सशक्त बनाउँदै समावेशी भविष्यतर्फ

विश्व जनसङ्ख्या दिवस २०८१: युवालाई सशक्त बनाउँदै समावेशी भविष्यतर्फ

काठमाडौँ, २७ असार: आज विश्वभर विविध कार्यक्रमका साथ विश्व जनसङ्ख्या दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको छ, जसको उद्देश्य जनसङ्ख्या सम्बन्धी मुद्दाप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनु हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार, विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो, तर पछिल्लो २०० वर्षभित्र यो सात गुणाले वृद्धि भई सन् २०११ मा सात अर्ब पुगेको थियो। सन् २०२१ मा यो सङ्ख्या सात अर्ब ९० करोड नाघिसकेको छ। हालको अनुमानअनुसार सन् २०३० मा जनसङ्ख्या आठ अर्ब ५० करोड, सन् २०५० मा नौ अर्ब ७० करोड र सन् २१०० मा १० अर्ब ९० करोड पुग्नेछ।

जनसङ्ख्या वृद्धिमा प्रजनन दरको परिवर्तन, तीव्र सहरीकरण, र बसाइँसराइको गहिरो प्रभाव परेको अध्ययनहरूले देखाएका छन्। हालको परिवेशमा आर्थिक असुरक्षा, शिक्षा र स्वास्थ्यमा पहुँच, आवास समस्या तथा जलवायु संकटका कारण युवायुवतीमा बच्चा जन्माउने इच्छामा गिरावट आएको छ।

राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (UNFPA) ले चौध देशका १४ हजारभन्दा बढी वयस्कहरूसँग गरेको एक सर्वेक्षणअनुसार, धेरैजसो प्रजनन उमेरका मानिसले रोजगारीको अस्थिरता, स्वास्थ्य जोखिम, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय संकटका कारण आफूले चाहेजति बच्चा जन्माउन नसकेको बताएका छन्।

यस अवसरमा महासचिव एन्टोनियो गुटरेसले युवालाई निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माणका लागि साथ दिनुपर्नेमा जोड दिनुभएको छ। उहाँले दिगो विकास, शान्ति र मानव अधिकारको सम्मानका लागि युवाका अधिकारलाई समर्थन गर्न आवश्यक रहेको सन्देश दिनुभएको छ।

यस वर्षको जनसङ्ख्या दिवसको नारा छ —
“युवालाई सशक्त बनाऔँ, उनीहरूले चाहेको परिवार सिर्जना गर्न सकून्”।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका