Sunday, November 8, 2026
Homeसामाचारविपी राजमार्गमा रातको सवारी आवागमन १५ दिनका लागि रोक, आजदेखि लागू

विपी राजमार्गमा रातको सवारी आवागमन १५ दिनका लागि रोक, आजदेखि लागू

रामेछाप: वर्षायाममा बढ्दो जोखिमलाई ध्यानमा राख्दै विपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ।

शुक्रबार सिन्धुलीको मूल्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले बेलुका ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म मालवाहक सवारीबाहेक अन्य सबै सवारी साधनको आवागमनमा अस्थायी रोक लगाउने निर्णय गरेको हो।

राजमार्गको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न खण्डमा वर्षाका कारण क्षति पुगेको र पहिरो तथा चिप्लो सडकका कारण सवारी दुर्घटनाको जोखिम बढेकाले यात्रु तथा चालकहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

निर्णयअनुसार काठमाडौंबाट बाहिरिने सवारी साधन काभ्रे भञ्ज्याङमै रोकिनेछ भने काठमाडौंतर्फ जाने सवारी साधन सिन्धुलीको खुर्कोटमा रोकिनेछ। सो निर्णय आज (शुक्रबार ) रातिबाट नै लागू हुनेछ।

विपी राजमार्ग राजधानी काठमाडौंलाई तराईसँग जोड्ने अति व्यस्त र महत्त्वपूर्ण राजमार्ग हो। दैनिक हजारौँ यात्रु र मालवाहक सवारी यही बाटो भएर चल्ने गरेका छन्।

गत असोजमा आएको बाढीका कारण रोशी खोला क्षेत्रको सडकमा ठूलो क्षति पुगेको थियो। सडक संकुचित र चिप्लो भएकाले चौकीडाँडा क्षेत्रमा सवारी दुर्घटना दैनिकजसो हुने गरेको छ। यस पृष्ठभूमिमा अस्थायी सवारी प्रतिबन्धले केही समय असहजता भए पनि यात्रु सुरक्षाका दृष्टिकोणले आवश्यक सावधानीको रूपमा हेरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका