Sunday, November 8, 2026
Homeसामाचारविपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

दोधारा चाँदनी (कञ्चनपुर), ९ असोज। प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि आमा पदमा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

बहिनी पुष्पाले दाइको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न अमेरिकातर्फ जाने कार्यक्रम तय भएको बताइन्। उनले भनिन्, “यसअघि इजरायल गएझैँ यसपटक पनि दाइको रिहाइका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन अमेरिका जाँदैछौँ। यो केवल हाम्रो परिवारको मात्र नभई अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले अन्य मुलुकका नागरिकलाई पनि समर्थनका लागि अनुरोध गर्छु।”

यसअघि इजरायल सरकारले आमा र बहिनीलाई त्यहाँ लगेका थियो। यसपटक पनि इजरायलकै सहयोगमा उनीहरू अमेरिका हुँदै संयुक्त राष्ट्रसङ्घसम्म पुग्ने तयारी गरिएको जनाइएको छ।

गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिनसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो। विपिनको परिवारले भने उक्त तस्बिर इजरायलमाथि दबाब सिर्जना गर्न सार्वजनिक गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ। विपिनका पिता महानन्द जोशीले भने, “सरकारले कतारलगायतका मुलुकसँग सक्रिय पहल गरे छोराको रिहाइ सम्भव हुन्छ भन्ने लाग्छ। दुई वर्षदेखि आशामा बसिरहेका छौँ, अब सरकारले थप जिम्मेवारीपूर्वक कदम चालोस्।”

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका विपिनसहितका नेपाली विद्यार्थी गत आक्रमणमा परेका थिए। उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका