काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जुम्लाबाट गैरकानुनी रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरिएको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले कार्यालयका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद देवकोटा, मेकानिकल सुपरभाइजर शम्भु दाहाल र प्रहरी नायव निरीक्षक (सई) गंगाराम विश्वकर्माविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।
अख्तियारको अनुसन्धानअनुसार वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका शालिकराम भण्डारीको नाममा जुम्लाबाट वर्ग ‘बी’ को लाइसेन्स जारी गरिएको पाइएको छ। भण्डारी २०७० भदौ १९ गते मलेसिया गएका थिए र २०७५ भदौ २३ गते मात्र नेपाल फर्केका थिए। तर, उनी विदेशमै रहेका बेला २०७५ साउन २० गते लिखित र प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएको देखाई साउन २५ गते उनलाई लाइसेन्स जारी गरिएको थियो।
अनुसन्धानमा भण्डारीसहित अन्य १७ जना परीक्षार्थीलाई पनि गैरकानुनी रूपमा उत्तीर्ण गराइएको खुलेको छ। तीमध्ये केही प्रयोगात्मक परीक्षा (ट्रायल) मा फेल भएका तथा केही अनुपस्थित रहेका व्यक्तिलाई कम्प्युटर प्रणालीमा नतिजा परिवर्तन गरी पास गराइएको अख्तियारले जनाएको छ।
लाइसेन्स जारी गरिएका व्यक्तिहरूमा शिवबहादुर क्षेत्री, अंकबहादुर शाही, शान्ता कुमारी चौलागाई, प्रेमप्रसाद उपाध्याय, मेघराज डाँगी, मीनबहादुर मल्ल, सरस्वती भुर्तेल, सबिका दाहाल, दीपक शाही, रेशम अधिकारी, नेत्रकला जैसी, आस्था भट्टराई, विकास खत्री, आरती न्यौपाने, लोकेन्द्र मल्ल, ताराबहादुर थापा, हिमाल बोहोरा र कुङ सन्डुप लामा रहेका छन्।
यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखाको प्राविधिक प्रतिवेदनअनुसार तत्कालीन निमित्त कार्यालय प्रमुख देवकोटाले आफ्नै युजर आईडी प्रयोग गरी परीक्षाको नतिजा फेरबदल गरेको पुष्टि भएको छ। आयोगले राष्ट्रसेवक कर्मचारीहरूले बदनियत राखी सरकारी कागजात तथा विद्युतीय अभिलेखमा हेरफेर गरी भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ।


