Saturday, November 7, 2026
Homeसामाचारविदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण :...

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बसोबास गर्ने नेपालीहरूले नेपालको अर्थतन्त्र तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताएका छन्।

जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासले मंगलबार आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै जापानमा आर्जित ज्ञान, सीप, पूँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपाल निर्माणमा थप योगदान दिन आग्रह गरे।

उनले जापानमा विभिन्न पेशा तथा क्रियाकलापमा संलग्न नेपाली समुदायको हित, चासो र समस्याको समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापछि मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धितर्फ तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे।

राष्ट्रपति पौडेलले राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता, सहभागिता तथा विधिको शासनलाई केन्द्रमा राखी जनतामा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले युवा पुस्ताबाट उठेको सुशासनको मागलाई सम्बोधन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकमा स्थायित्व र विकासका नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे।

उनले आसन्न निर्वाचन सफल बनाउन विदेशमा रहेका नेपालीहरूले पनि आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान विश्वासिलो विकास साझेदार रहेको बताए।

राष्ट्रपति पौडेलले औद्योगिक विकास, कृषि, जलविद्युत तथा पूर्वाधार विकासलगायत क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट नेपाल लाभान्वित हुन सक्ने धारणा राखे। द्विपक्षीय व्यापार विस्तार तथा नेपालको प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी भित्र्याउन तथा नवप्रवर्तन प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकिएको बताए।

नेपाल र जापानबीच गौतम बुद्धको शिक्षाबाट प्रेरित गहिरो सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले बुद्धको जन्मस्थल लुम्बिनीले जापानी नागरिकमा नेपालप्रतिको आकर्षण बढाएको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका